काठमाडौं । पूर्वप्रधानमन्त्री भलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकहरुको मागलाई कुल्चिएर हिँडिरहेको आरोप लगाउनुभएको छ ।
मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कम्युनिष्ट पार्टीका नेता प्रधानमन्त्री भएको बेलामा शिक्षकहरु सडकमा रहेको र शिक्षकका मागहरु कुल्चिएर प्रधानमन्त्री हिँडेको आरोप लगाउनु भयो ।
उहाँले सरकारको मन्त्रीले राजीनामा दिनु झनै दुःखद् भएको बताउनु भयो । उहाँले शिक्षकका मागहरु सम्बोधन गर्नुपर्ने पक्षमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई रहे पनि प्रधानमन्त्री ओलीले माग सम्बोधन नगरिदिँदा राजीनामा दिन विवश भएको आरोप लगाउनु भयो ।
शिक्षामा प्रगतिशिल परिवर्तनको कुरा कहाँ गयो ? भन्दै प्रश्न गर्नुभयो । उहाँले अहिलेका नेतृत्वहरुसँग जनता रिसाएको र रिसाएका जनताले के गर्छन् भन्नेकुरा सोच्न नसकिने बताउनु भयो ।
पूर्वप्रधानमन्त्री खनालले नेकपा (माओवादी केन्द्र) अवसरवादी पार्टी भएको उल्लेख गर्नुभयो । केही दिनअघिसम्म काँग्रेसको पिठ्यँमा चढेर माओवादीले घमण्ड गरिरहे पनि अहिले क्रान्तिकारी कुरा गरिरहेको बताउनु भयो ।
उहाँले काँग्रेसको बुइ चढेर अहिले एमाले आगामी निर्वाचनमा पनि बहुमत ल्याउने घमण्ड गरिरहेको बताउनु भयो । नेकपा (एकीकृत समाजवादी) ले पनि मन्त्रीको लोभमा सरकारमा सहभागी भएको भन्दै यसबारेमा समीक्षा जरुरी रहेको बताउनु भयो ।
पूर्वप्रधानमन्त्री खनालले समय लागे पनि प्रयत्न गर्दै जाने हो भने नेपालको कम्युनिष्ट आन्दोलन एकतावद्ध हुने दाबी गर्नुभयो ।