डिप्लोमा ईन फार्मेसीको प्रवेश परिक्षा रोकिएपछि विद्यार्थीहरु आन्दोलित


१५ श्रावण २०७६, बुधबार २२:३१ मा प्रकाशित

पोखरा । वेष्टर्न हेल्थ साईन्स एकेडेमी पोखरा–११ अन्तर्गत डिप्लोमा ईन फार्मेसीको प्रवेश परिक्षा रोकिएपछि विद्यार्थीहरु आन्दोलित भएका छन् ।

गत असार २२ गते प्रकाशित हुनु पर्ने नोटिस करिब १ महिना बित्न लाग्दा समेत नआएपछि विद्यार्थीहरु आन्दोलित भएका हुन् । बुधबार दिउँसो विद्यार्थीहरुको भविष्यमाथि खेलवाड गर्ने र जिम्मेवार ढंगले काम गर्न नसकेको भन्दै व्यवस्थापन समितिका अध्यक्ष टंक अधिकारीको राजीनामा माग गरेका छन् । यता, व्यवस्थापन समितीका अध्यक्ष टंक अधिकारी लगायतले भने सम्पूर्ण कागजपत्रहरु प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् सानोठिमी भक्तपुरको स्तर निर्धारण महाशाखामा पठाएको जिकिर गरिरहे ।

क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष टंक अधिकारी शुरुमा यस विषयमा कुरा नै गर्न चाहेनन् । व्यवस्थापन समितिका उपाध्यक्ष शेरबहादुर गुरुङले बैठक चलिरहेकोले यस विषयमा अहिले केही बोल्न नमिल्ने भन्दै उल्टै मिडियासँग नै आक्रोश पोखे । क्याम्पस व्यवस्थापन समितिको बैठकमा विद्यार्थीहरुले त्यहाँ भएका कमीकमजोरी र लापरवाहीका विषयहरुमा आवाज उठाएका थिए । राम्रा शिक्षकहरुलाई निकालेर दलगत र आफ्ना नजिकका व्यक्तिहरुलाई क्षमता र योग्यता बिना नै पढाउन लगाउने गरेको, एकैपटक वर्ष दिनको शुल्क लिने गरिएको, अन्य पेशामा आवद्ध भएका विद्यार्थीहरुलाई जागिर छोड्न दवाव दिने काम समेत गरिएको भन्दै सञ्चालक समितिका सदस्य काशिनाथ काफ्लेसँग गुनासो गरे ।

एउटै व्यवस्थापन समितिले एउटै भवनमा वेष्टर्न हेल्थ साईन्स एकेडेमी र पोखरा टेक्निकल हेल्थ मल्टिपर्पोज भन्ने दुईवटा कलेज सञ्चालन गरिएका छन् । पोखरा टेक्निकल हेल्थ मल्टिपर्पोजमा सामान्य चिकित्सा (एच.ए.) र नर्सिङको प्रवेश परिक्षा साउन २२ गते हुने गरी फर्म बितरण भईसकेको छ भने वेष्टर्न हेल्थ साईन्स एकेडेमीमा अझै अन्यौंल कायमै छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here