काठमाडौं । नेपालको गरिबी न्युनिकरणमा रेमिट्यान्सको ठूलो भुमिका उल्लेखनिय रहेको विश्व बैंकले निस्कर्ष निकालेको छ । सोमवार विश्व बैंकले नेपाल राष्ट्रगत आर्थिक परिदृश्यः नेपालमा आर्थिक वृद्धिको सम्भावना उजागर प्रतिवेदन सार्वजनिक गर्दै नेपालले चरम गरिबी लगभग निवारण गरेर गरिबी न्युनिकरणमा उल्लेखनीय सफलता हासिल गरेको र यसमा मुलतः विप्रेषण (रेमिट्यान्स) को ठूलो भुमिका रहेको बताएको हो ।
विश्व बैंककाअनुसार भविष्यमा सुदृढ आर्थिक वृद्धि हासिल गर्न नेपालले आन्तरिक रुपमा रोजगारीका अवसरहरूलाई खुल्ला गर्नका लागि नीतिगत कदमहरू चाल्नुपर्छ ।
विश्व बैंककाअनुसार नेपालको आर्थिक वृद्धि अन्य देशको तुलनामा निकै पछाडि छ ।
प्रतिवेदनमा भनिएको छ– ‘सन् १९९६ देखि सन् २०२३ को अवधिमा नेपालको अर्थतन्त्र वार्षिक औसत ४.२ प्रतिशतले मात्र वृद्धि भयो, जुन दक्षिण एसियाका आठ राष्ट्रहरूमध्ये छैटौँ स्थानमा पर्दछ । निर्यातमा गिरावट, औद्योगिक क्षेत्रको गतिहीनता र न्युन उत्पादकत्व जस्ता संरचनागत चुनौतीहरूले नेपालको अर्थतन्त्रलाई पछाडि धकेल्नुका साथै गैर–कृषि क्षेत्रमा रोजगारी सिर्जना सुस्त भएको छ ।
नेपालमा आन्तरिक रोजगारी अवसर सिमित हुँदा युवा श्रमिकहरू वैदेशिक रोजगारीमा जान बाध्य भइरहेको विश्व बैंकको ठहर छ । प्रतिवेदन सार्वजनिक गर्दै मल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका विभागीय राष्ट्रिय निर्देशक डेभिड सिस्लेनले गरिबी न्युनिकरणमा नेपालको सफलता उल्लेखनीय रहेको बताउनु भयो ।
उहाँकाअनुसार मुलुकमा प्रचुर सम्भावना हुँदाहुँदै त्यसको उपयोगमा नेपाल चुकिरहेको छ ।