साढे ३ करोडमा नदीजन्य पदार्थ उत्खननको ठेक्का


२ चैत्र २०८१, आईतवार १८:०७ मा प्रकाशित

मेचीनगर, ३ चैत । मेचीनगरको नदीजन्य पदार्थ उत्खनन्का लागि यसपटक दुईवटा प्याकेजको रुपमा ठेक्का लागेको छ । मेची, हडिया, टिमाई र निन्दा खोलाबाट उत्खनन् गरिने ढुंगा, गिटी र बालुवालाई दुईवटा प्याकेजको रुपमा विभाजन गरी ठेक्का लगाइएको हो ।


मेचीनगर नगरपालिका राजश्व शाखाका प्रमुख प्रेमप्रसाद पराजुलीका अनुसार मेची, हडिया, टिमाई र निन्दा खोलाबाट उत्खनन् गरिने ढुंगा, गिटी र बालुवालाई प्याकेज १ का रुपमा ठेक्का लगाइएको छ ।


त्यस्तै मेची र निन्दा खोलाबाट उत्खनन् गरिने ढुंगा, गिटी र बालुवालाई प्याकेज २ का रुपमा ठेक्का लगाइएको उनको भनाई छ । प्याकेज १ का रुपमा मेची, हडिया, टिमाई र निन्दा खोलाबाट उत्खनन् गर्न द पूर्वाञ्चल निर्माण सेवा कम्पनीलाई १ करोड ७१ लाख ९९ हजार ९९९ रुपैयाँमा ठेक्का दिइएको पराजुलीले जानकारी दिए ।


यसैगरी प्याकेज २ का रुपमा मेची र निन्दा खोलाबाट उत्खनन् गर्न कालिका जेभि प्रालिलाई १ करोड ७७ लाख ९८ हजार ७६० रुपैयाँमा ठेक्का दिइएको उनले बताए । यसपटक दुईवटा प्याकेजको जम्मा ३ करोड ४९ लाख ९८ हजार ७५९ रुपैयाँमा रुपमा मेचीनगरको ढुंगा, गिटी र बालुवा उत्खनन् गर्न जिम्मा दिइएको छ ।


उनका अनुसार यही फागुन ५ गतेदेखि आगामी जेठ मसान्त वा तोकिएको परीमाण समाप्त भएपछि जुन पहिला हुन्छ त्यहि लागू गर्ने गरि सहमति भएको छ । कार्यालयका अनुसार टिमाई खोलाबाट एकलाख ७४ हजार ६२८ दशमलव ९ घनमिटर, हडिया खोलाबाट दुईलाख ८२ हजार ८३२ दशमलव २५ घनमिटर, निन्दा खोलाबाट आठ लाख ४१ हजार १४४ दशमलव ९५ घनमिटर र मेची खोलाबाट बाह्लाख ५० हजार ९६२ दशमलव ८६ घनमिटर उत्खनन् गरिने छ ।


सबै क्षेत्रहरुमा उत्खनन् गर्दा प्रतिवेदनमा दिएको लम्बाई, चौडाई र गहिराई भन्दा बाहेक फरक नपर्ने गरी ठुला तथा साना उपकरण प्रयोग गरेर कार्यअघि बढाउने कम्पनीसँग सम्झौता रहेको छ ।


कार्यालयको अध्ययन टोलीको स्थलगत अध्ययन, अवलोकन र अघिल्लो वर्षको प्रारम्भिक वातावरणीय परीक्षणको प्रतिवेदनलाई आधारमानी गरिएको र विभिन्न नदीजन्य पदार्थको दर निर्धारणका लागि कोशी प्रदेश आर्थिक ऐन २०८१/०८२ अन्तरगत संकलन दर लागू गरिएको छ ।


गतवर्ष २ करोड ७३ लाखमा ठेक्का गतवर्ष मेचीनगरको ढुंगा, गिटी र बालुवा उत्खनन्का लागि स–साना ठेक्का लगाएर राजश्व संकलन गरिएको आर्थिक विकास शाखा प्रमुख दिपेन्द्र कार्कीले बताए ।


उनले मेची, हडिया, टिमाई र निन्दा खोलाबाट ढुंगा, गिटी र बालुवा उत्खनन् गर्दा २ करोड ७२ लाख ९८ हजार २३८ रुपैयाँ राजश्व संकलन भएको बताए । त्यसबेला एकलाख ५ हजार ७७५ घनमिटर ढुंगा, गिटी र बालुवा उत्खनन् गरिएको कार्कीको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here