मेची–महाकाली रेलमार्गकाे मुआब्जा प्रतिकठ्ठा ४० लाखसम्म


१४ श्रावण २०७६, मंगलवार ११:५६ मा प्रकाशित

काठमाडौं । सरकारले मेची–महाकाली विद्युतीय रेलमार्गमा पर्ने केही क्षेत्रकाे मुआब्जा निर्माण प्रक्रिया अघि बढाएको छ । बर्दिबास–निजगढ खण्डमा रेलमार्ग निर्माणका लागि मुआब्जा निर्धारण गर्दै सरकारले प्रक्रिया अघि बढाएको हो ।

रौतहटको साविक संतपुर र रंगपुर गाविसमा पर्ने जग्गा अधिग्रहणका लागि दररेट कायम गरेको छ । त्यस क्षेत्रको न्यूनतम प्रतिकठ्ठा ३ लाख रुपैयाँदेखि ४० लाख रुपैयाँसम्म तोकिएको छ । मुआब्जा वितरणका लागि जग्गाको दर रेट कायम भइसकेको भन्दै जिल्ला प्रशासन कार्यालय (जिप्रका), रौतहटले मुआब्जा लिन सर्वसाधारणलाई आग्रह गरेको छ ।

जग्गा प्राप्ति ऐन, २०३४ बमोजिम जिप्रकामा गत आइतबार मुआब्जा निर्धारण समितिको बैठक बसेर मुआब्जा निर्धारण गरेको थियो । समितिले निर्णय गरे बमोजिम मंगलबार सार्वजनिक सूचना जारी गर्दै मुआब्जा लिन आग्रह गरिएको हो ।

मुआब्जा लिनका लागि सो क्षेत्रमा घर–जग्गा भएकाहरूले जग्गाधनी प्रमाणपुर्जा, मालपोत तिरेको रसिद, नेपाली नागरिकताको प्रतिलिपि, कित्ता नम्बर देखिने नक्सालगायतका कागजात लिएर आफैं वा वारेस पठाउन सकिने जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here