बुट्टाबारी च्यालेन्ज कप : सर्घषपूर्ण जित निकाल्दै शनिश्चरे एफसी सेमिफाइनलमा प्रवेश


२१ फाल्गुन २०८१, बुधबार १९:११ मा प्रकाशित

बिर्तामोड, फागुन २१ । शनिश्चरे फुटबल क्लब झापाको बुट्टाबारीमा जारी तेस्रो बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोड–६ स्थित हरियाली खेलमैदानमा आज भएको खेलमा झापाली टोली शनिश्चरे एफसीले मोरङ्गको लेटाङ्ग एफसीमाथि १–० गोल अन्तरको जित निकाल्दै अन्तिम चारमा पुगेको हो ।

शनिश्चरेका गणेश गजमेरले खेलको ६४ औं मिनेटमा गरेको गोल नै निर्णय बन्यो । खेलको प्लेयर अफ द म्याच निर्णय गोलकर्ता गजमेर घोषित भए । उनले नगद ३ हजार र ट्रफी पाए । भोलिको तेस्रो क्वार्टर फाइनल खेल विराटनगर सिटी एफसी र रेडहर्स फुटबल क्लब इलामबीच हुने आयोजक बुट्टा युनाईटेड क्लबका कोषाध्यक्ष बाबुराम बस्नेतले जानकारी दिए । ८ टिम सहभागी प्रतियोगिताको विजेतालाई २ लाख २ हजार २२२ रुपैयाँ र उपविजेतालाई एक लाख एक हजार १११ रुपैयाँसहित ट्रफी प्रदान गरिने क्लबका अध्यक्ष हिमाल कन्दङवाले जानकारी दिए ।

प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद ३ हजार पुरस्कार पाउने छन् । त्यस्तै, बेस्ट प्लेयरलाई १५ हजार, हाई स्कोररलाई १० हजार, राइजिङ प्लेयरलाई १० हजार र बेस्ट गोलकिपरलाई १० हजार नगद प्रदान गरिने आयोजकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here