बौद्वमोडमा आधुनिक मौरी पालन सम्बन्धी तालिम


१८ फाल्गुन २०८१, आईतवार १७:४७ मा प्रकाशित

मेचीनगर, १८ फागुन । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले मौरी पालन किसानलाई मह उत्पादनको बजारीकरणमा सहयोग गर्ने बताएका छन् ।
आज मेचीनगर–२ स्थित बौद्वमोडमा नगरपालिकाले आयोजना गरेको आधुनिक मौरी पालन सम्बन्धी ५ दिने तालिमका प्रमुख अतिथि नगरप्रमुख बुढाथोकीले यस्तो कुरा बताएका हुन् ।
तालिममा सहभागी युवा कृषकहरुलाई उनले मौरी पालनबाट मह उत्पादन बढाउन, प्रशोधन गर्न र बजारीकरणका लागि नगरपालिकाले सहयोग गर्ने बताए ।


तालिममा मेचीनगर–१, २, ३, ४ र ९ नम्बर वडाका करिव ६० जना मौरी पालन कृषकहरुलाई सहभागी गराइएको नगरपालिकाका कृषि शाखा प्रमुख टेकेन्द्र प्रधानले बताए ।
उनका अनुसार सहभागीलाई दुई सिफ्टमा बाढेर तालिममा गराइएको छ । जसमा वडा नं.१ र ४ बाट १२/१२ जना कृषक, २ नं.वडाबाट ६ जना कृषक, ९ नं.वडाबाट १२ जना कृषक, ३ नं.वडाबाट १२ जना र २ नं.वडाबाट ६ जना कृषक रहेका छन् ।


तालिममा सहभागीहरुलाई इलाम स्थित रोङ गाउँपालिकाका मौरी पालन विज्ञ कुमार मुक्तान र रोङ गाउँपालिकाका कृषि प्राविधिक राम तामाङले प्रशिक्षण दिइरहेका छन् ।
तालिममा झापामा प्रधानमन्त्री कृषि आधुनिकरण कार्यक्रमको इन्टरसीप गरिरहेका दुईजना महिलाहरु पनि सहभागी भएका छन् । आधुनिक मौरी पालन तालिम फागुन २२ गते समापन हुनेछ ।


मेचीनगर–२ का वडाध्यक्ष दिपक बरालको अध्यक्षतामा उद्घाटन सत्रको समापनको स्वागत आर्थिक विकास समितिकी संयोजक तिलजा देवानले र सञ्चालन कृषि शाखा प्रमुख टेकेन्द्र प्रधानले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here