डीएनए नमिल्दा दिलिप विष्टलाई दोषी किटान गर्न सकिएनः गृहमन्त्री


१३ श्रावण २०७६, सोमबार १७:४५ मा प्रकाशित

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले कञ्चनपुरकी बालिका निर्मलाको हत्यारा दिलिपसिंह विष्ट नै हुन सक्ने बताएका छन् ।

राष्ट्रिय सभा अन्तरगतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा उठेका प्रश्नको जवाफ दिँदै सोमबार गृहमन्त्री बादलले सो कुरा बताएका हुन् । सांसद राधेश्याम अधिकारी, विमलादेवी आले (राना) र चन्द्रबहादुर खड्काले निर्मलाको हत्या भएको वर्षदिन बित्दा समेत हत्यारा पत्ता किन लगाउन सकिएन भनी सोधेको प्रश्नमा गृहमन्त्रीले भन्नुभयो, ‘प्रमाण नपुग्दा दिलिपसिंह विष्टविरुद्ध मुद्दा चलाउन सकिएन । उनीविरुद्ध धेरैजसो प्रमाण जुटेका छन् तर डीएनए रिपोर्ट नमिल्दा अपराधी उहीँ नै भन्न सकिने अवस्था रहेन ।’

उनले सो प्रकरणमा प्रहरी अनुसन्धानमा चुकेको स्वीकार गर्नुभयो । प्रहरीबाट गल्ती भएको भन्दै यसरी गल्ती गर्ने प्रहरी अधिकृतहरुलाई निलम्बन गरी कारबाही समेत गरिसकेको बताए । सांसदहरुले दिलिपसिंह विष्टमाथि धेरै प्रमाण जुटिसक्दा पनि किन उनीलाई नै दोषी करार गर्न नसकेको भनी प्रश्न उठाएका थिए । साथै उनीहरुले हाइप्रोफाइल व्यक्ति हत्यामा संलग्न रहेको भए किन त्यसको निक्र्यौल भएन भन्ने प्रश्न समेत गरेका थिए । जवाफमा गृहमन्त्रीले केही अनुसन्धान जटिल प्रकृतिका हुने हुनाले निर्मलाको केसमा पनि कठिनाइ आएको बताए । यद्यपि नयाँ ढंगबाट अनुसन्धान सुरु गरिएको जानकारी दिँदै उनले हत्यारा ढिलोचाँडो पत्ता लाग्ने समेत आश्वासन दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here