लोकतन्त्र नै न्यायपूर्ण समाजको आधारशिलाः राष्ट्रपति पौडेल


४ फाल्गुन २०८१, आईतवार १०:२१ मा प्रकाशित

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनका कारण नेपालमा प्राकृतिक प्रकोप, जैविक विविधताको क्षति र कृषिमा आधारित जीविकोपार्जनमा समेत खतराहरु बढ्दै गएको बताउनुभएको छ । 


आईतवार काठमाडौंमा पाँचौं ल एशिया अन्तर्राष्ट्रिय मानव अधिकार सम्मेलनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पछिल्लो समयमा जलवायु परिवर्तनका कारण नेपाली समुदायमा गहिरो प्रभाव परेको बताउनु भयो ।

उहाँले विकसित देशहरुको कार्यबाट उत्पन्न वातावरणीय ह्रासको परिणाम नेपालले भोग्नु परिरहेको बताउनु भयो । उहाँले नेपाल वातावरणीय प्रकोपका निर्दोष पीडित भएको बताउनु भयो ।

नेपालले विकसित मुलुकले गरेको अन्यायहरुलाई सम्बोधन गर्न र दिगो तथा समतामुलक भविष्यतर्फ काम गर्न ल एशिया र अन्तर्राष्ट्रिय समुदायबाट समेत जलवायु न्यायका लागि एउटा सशक्त न्यायको अपेक्षा गरेको बताउनु भयो । 


राष्ट्रपति पौडेलले मानव अधिकार, सामाजिक तथा वातावरणीय न्याय समावेशी चरित्रका अधिकारका विषयवस्तुहरु न्यायपूर्ण र समतामुलक समाज निर्माणका लागि महत्वपूर्ण रहेको बताउनु भयो । लोकतन्त्र नै न्यायपूर्ण समाजको आधारशिला र मौलिक अधिकार यसको जीवन रेखा भएको उल्लेख गर्नुभयो । कानून व्यवसायीहरु विधिको शासनको पहरेदार र लोकतन्त्रको रक्षक भएको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here