काठमाडौं । कृषि, तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले नेपालको कृषि क्षेत्रलाई यान्त्रीकरणको माध्यमबाट आत्मनिर्भर बनाउन सकिने बताउनुभएको छ ।
शुक्रवारबाट काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको सातौं नेपाल एग्रीटेक तथा नेपाल फुड एण्ड बेभरेज इन्टरनेशनल एक्स्पोको उद्घाटन गर्दै मन्त्री अधिकारीले कृषिमा आत्मनिर्भर बन्न यान्त्रीकरणको जरुरी रहेको बताउनुभएको हो । उहाँले एक्स्पोले कृषि क्षेत्रको विकास गर्न महत्वपूर्ण जानकारी दिने विश्वास राखेको बताउनु भयो ।
उहाँले यान्त्रीकरणको माध्यमबाट मात्रै कृषिको विकास हुनेकुरा सबैले स्वीकार्नुपर्ने बताउनु भयो । उहाँले सामान्य भन्दा सामान्य उत्पादनका लागि पनि यान्त्रीकरणकै माध्यमबाट अगाडि जानसके आत्मनिर्भरताका लागि मात्रै नभइ व्यवसायिक खेतीका लागि र नेपालीहरु बचाउनका लागि नेपालीहरुको भान्सामा पुग्न सकिने बताउनु भयो ।
उहाँले प्रविधिलाई जोड दिँदै नेपालीहरु आफ्नै खुट्टामा उभिनसक्ने वातावरण तयार गर्ने सरकारको उद्देश्य रहेको बताउनु भयो । मन्त्री अधिकारीले एक्स्पोले कृषि तथा पशुपंक्षी विकास मन्त्रालयलाई ठूलो टेवा पुग्ने र यस किसिमको प्रदर्शनीहरु ग्रामिण क्षेत्रमा पनि गर्न जरुरी रहेको बताउनु भयो ।
प्रदर्शनी आईतवारसम्म सञ्चालन हुनेछ । प्रदर्शनीमा निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ ।






