बिर्तामोड । झापाको बिर्तामोड–६ मा सञ्चालित तक्षशिला प्रोगे्रसिभ इंग्लिस स्कुलमा आर्टिफिसियल इन्टिलिजेन्स (एआई) प्रविधिको अध्ययन सुरु भएको छ । हालै सरस्वती पुजाको अवसर पारेर स्कुलले नयाँ प्रविधीमा आधारित एआई विषयलाई अतिरिक्त विषयको रुपमा अध्ययन अध्यापन सुरु गराएको हो ।
स्कुलका कक्षा १० सम्मका विद्यार्थीले अब अतिरिक्त विषयको रुपमा एआइ सम्बन्धी अध्ययन गर्न पाउने भएका छन् । विद्यालयले थ्रिडिआइ ल्याब सञ्चालनमा आएसँगै एआइ प्रविधिको पढाई सुरु गरिएको विद्यालयकी कार्यकारी निर्देशक डक्टर अञ्जली कार्कीले जानकारी दिनुभयो । थ्रिडिआई र एआई प्रविधिमा आधारित कोडिङ्ग, प्रोग्रामिङ्ग, नेटवर्क इन्जिनियरिङ्ग, रोबटिक्स र ड्रोनसम्बन्धि अध्ययन गराइनेछ । सो ल्याब एक करोड ५० लाख रुपैयाँको लगानीमा स्थापना गरिएको हो ।
एआइबिना अध्ययन पनि अपुरो हुने भएकाले विद्यार्थीलाई भविष्यमा प्रविधिमैत्री बनाउन तथा व्यावहारिक शिक्षा दिने उद्देश्यले एआइको अध्ययन सुरु गरिएको विद्यालयका सञ्चालक प्रमिस गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार यो प्रक्रियाबाट पढाइ गराउने कोशी प्रदेशमै पहिलो विद्यालय तक्षशिला हो । विद्यालयमा सात सय विद्यार्थी अध्ययनरत छन् भने करिब ५० जना शिक्षक शिक्षका रहेको बताइएको छ ।