‘अमला काण्ड’ भन्दै अतिरञ्जित भिडिओ बनाउने ३८ युट्युब च्यानल कारबाहीमा


२३ माघ २०८१, बुधबार १८:४९ मा प्रकाशित

काठमाडौं । झापाको शिवसताक्षी नगरपालिकामा भएको घटनालाई ‘अमला काण्ड’ भनेर प्रसारण गर्ने ३८ युट्युब च्यानललाई कारबाही गरिएको छ । युट्युबमा भ्युज बढाउनका लागि पीडित युवती, आरोपी वृद्ध पुरुष, शिशु र पीडित परिवारका भिडिओ तथा तस्बिरहरू राखेको भन्दै प्रेस काउन्सिलले कारबाही गरेको हो ।

प्रेस काउन्सिलका अनुसार ती युट्युब च्यानलहरूले अमर्यादित प्रश्नहरू सोध्ने, संवेदनहीन बहसलाई प्राथमिकता दिने, र चरित्रहत्या गर्ने किसिमको सनसनीपूर्ण र अतिरञ्जित सामग्री प्रसारण गर्दै आएका थिए ।

काउन्सिलले भनेको छ, “पछिल्लो समय कतिपय सामाजिक सञ्जाल (युट्युब/फेसबुक पेज) बाट झापाको शिवसताक्षी नगरपालिकामा घटेको एक घटनालाई ‘अमला काण्ड’ नाम दिई सत्यतथ्य पत्ता नलागिसकेको अवस्थामा आफूखुशी सामग्री प्रसारण भइरहेको छ ।

यसरी पर्याप्त तथ्य प्रमाण बिना भ्युअर्स बढाउने उद्देश्यले चरित्रहत्या, बेइज्जती, मानहानी र वैयक्तिक गोपनीयताको उल्लङ्घन गर्दै सामग्री प्रसारण भइरहेकोप्रति प्रेस काउन्सिल नेपालको गम्भीर ध्यानाकर्षण भएको छ ।

काउन्सिलले यो किसिमका क्रियाकलापले पीडित र पीडितका परिवारलाई थप पीडा पुर्याउने र सार्वजनिक संवेदनशीलतामा असर पर्ने भन्दै कारबाही प्रक्रिया अघि बढाएको जानकारी दिएको छ ।

मिडियाका रूपमा दर्ता नभएका युट्युब च्यानलहरूलाई प्रचलित कानुनअनुसार कारबाही गर्न नेपाल प्रहरी (साइबर ब्यूरो) मा पत्राचार गरिएको काउन्सिलले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here