देवघाटधाममा महामहोत्सव, भक्तजनको भीडले पुल चुँडिने जोखिम


२२ माघ २०८१, मंगलवार १५:१५ मा प्रकाशित

तनहुँ । देवघाटधाममा एकमहिने महामहोत्सव चलिरहेको छ । महामहोत्सव लागेसँगै भक्तजनको आगमन बढ्दो छ । भीड बढेपछि जीर्ण अवस्थामा पुगेको झोलुङ्गेमार्फत आवतजावत गर्न भक्तजन बाध्य भएका छन् ।

तनहुँको देवघाट गाउँपालिका र चितवनको भरतपुर महानगरपालिका जोड्ने त्रिशूली नदीमाथिको झोलुङ्गे पुलबाट आवतजावतमा समस्या हुनाका साथै जोखिममा यात्रा गर्न भक्तजन बाध्य छन् । भीड धेरै हुँदा पुल चुँडिने जोखिम भएपछि आवतजावतका लागि सीमा तोकिएको छ ।

भक्तजनको भीडका कारण तोकिएको सीमा पार हुने गरेको स्थानीय बताउँछन् । जोखिम न्यूनीकरणका लागि एक पटकमा १०० जना मात्र आवतजावत गर्न स्थानीय प्रशासनले अनुमति दिएको छ । भीड बढी हुँदा अनुमति कार्यान्वयनमा आउन मुस्किल भएको छ । जोखिमबाट बच्नका लागि पुलको दुवैतर्फ प्रहरी परिचालन गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा त्रिशूली नदीमा रहेको ४४ वर्ष पुरानो उक्त झोलुङ्गे पुलमा तीर्थयात्रीको चाप बढ्दा जोखिम भएकाले सीमा निर्धारण गरिएको उल्लेख गरिएको छ । उक्त पुलमा वारपार गर्न नियन्त्रित रुपमा एक पटकमा १०० व्यक्ति मात्रै आवतजावत गर्ने र मोटरसाइकल पूर्ण रुपमा बन्द गर्ने व्यवस्था मिलाउन जिल्ला प्रहरी कार्यालयसहित सबै सरोकारवालालाई निर्देशन दिइएको छ । 
    
सस्पेन्सन बृज डिभिजन पुल्चोक ललितपुरले सोमबार जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाउँदै उक्त पुल तथा सर्वसाधारण यात्रुको सुरक्षाका लागि पुलमा सावधानीका सबै उपाय अवलम्बन गर्न अनुरोध गरेको थियो । सो ठाउँमा मोटरेबल पुल नहुँदा भक्तजन अझै पनि झोलुङ्गे पुलमार्फत यात्रा गर्न बाध्य भएका छन् । 

देवघाटधाममा भक्तजनको हिन्दू धर्मावलम्बी आउने स्थान हो, सहज हुने गरी झोलुङ्गे पुल भएकै स्थानमा मोटरेबल पुलको आवश्यकता छ’, अध्यक्ष थापाले भने, ‘अकल्पनीय घटना नघटोस् भनेर पटक पटक सम्बन्धित निकायसमक्ष यस स्थानमा मोटरेबल निर्माण गर्न माग गरिरहेका छौँ, तर हाम्रो मागको सुनुवाइ भने भएको छैन ।’ उनले पालिकाले मात्रै यहाँको पुल निर्माण गर्न सक्ने बजेट नहुँदा पनि प्रदेश तथा सङ्घ सरकारसमक्ष माग गरिरहेका भए पनि बेवास्ता गर्ने गरेको पाएको बताए । 
    
चितवनको दासढुङ्गा, ठिमुरा र नवलपुरतर्फमा मोटरेवल पुल छन् । तर, आफ्ना सवारीसाधन नभइ दर्शनका लागि आउने भक्तजनलाई घुमाउरो पर्ने हुँदा पनि जोखिमयुक्त झोलुङ्गे पुलमार्फत यात्रा गर्न भक्तजन बाध्य भएका हुन् ।  

उक्त पुल वि.सं २०३७ मा निर्माण गरिएको हो । भक्तजनको आवतजावत बढ्ने समयमा मर्मत गर्दै सञ्चालनमा ल्याउने गरिएको छ । दीर्घकालीनरूपमा समस्याको समाधान हुने अवस्थातर्फ भने सरकारको ध्यानाकर्षण गएको छैन । रासस  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here