देव बाँस्कोटा, झापा । वैदिक सनातन धर्मसंरक्षण समिति झापाले झापाको ऐतिहासिक तथा धार्मिक स्थल किच्चकबधमा बनभोज तथा पुनर्मिलन कार्यक्रम सम्पन्न गरेको छ ।
वैदिक सनातन धर्मको संरक्षण र प्रवद्र्धनमा ध्यान केन्द्रित गर्दै समितिले आफ्ना सदस्यहरू र स्थानीय धर्मप्रेमीहरूलाई एकत्रित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा धार्मिक मन्तव्य, सामूहिक भजन कीर्तन, र ऐतिहासिक किच्चकबध क्षेत्रको महत्त्वबारे चर्चा गरिएको थियो ।
कार्यक्रममा झापाका १५ वटै पालिकाहरुबाट आचार्य गुरुहरु स्थानीय धर्मप्रेमी नागरिक, बुद्धिजीवी, युवा र महिला समूहको उल्लेखीय सहभागिता रहेको थियो । सहभागीहरूले यस्ता कार्यक्रमले समाजलाई धर्म र संस्कृतिप्रति थप जागरूक बनाउन सहयोग पुग्ने बताएका हुन् ।
वैदिक सनातन धर्म संरक्षण समितिका अध्यक्ष मोहन घिमिरेले बनभोज कार्यक्रमले भाइचारको सम्बन्धलाई सुमधुर बनाउने जानकारी दिनुभयो । उहाँले समाजमा भइरहहेको विकृति र विसंगतिलाई चिर्दै सामूहिक रूपमा धर्मको संरक्षणका लागि व्यक्तिगत तथा संस्थागत रूपमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
समितिका सदस्य र सदस्य परिवारका व्यक्तिहरूको उपस्थिति रहेको कार्यक्रमका बीच सामाजिक व्यक्तित्व शेरबहादुर थापालाई सम्मान गरिएको समितिका अध्यक्ष पण्डित रामप्रसाद ओझाले जानकारी दिनुभयो । सोही अवसरमा पण्डित मोहनप्रसाद घिमिरे, पण्डित नेत्रप्रसाद भट्टराई र पण्डित विवेक गुरागाईंलाई पनि सम्मान गरिएको थियो ।
वैदिक सनातन धर्मसंरक्षण समितिका महासचिव खगेन्द्र निरौलाका अनुसार झापाका पालिका स्तरीय समितिका संयोजकहरूलाई पनि कदरपत्र प्रदान गरिएको थियो । समितिले आगामी वर्षहरूमा यस्ता गतिविधिलाई झन् प्रभावकारी बनाउने र धार्मिक शिक्षा, प्रवचन तथा कार्यशालाहरू सञ्चालन गर्ने योजना पनि सार्वजनिक गरेको छ ।
कार्यक्रममा सहभागीहरूले सामूहिक रूपमा धर्मको संरक्षणका लागि व्यक्तिगत तथा संस्थागत रूपमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन् । कार्यक्रमको सफलताप्रति खुशी व्यक्त गर्दै आयोजक समितिले यस प्रकारका गतिविधिहरूलाई निरन्तरता दिने र वैदिक सनातन धर्मसंरक्षण गर्ने जनाएको छ ।
साहित्यिक र सांस्कृतिक प्रस्तुतिसँगै आयोजना गरिएको उक्त कार्यक्रममा पिण्डेश्वर क्याम्पसका उपप्राध्यापक दिपक पराजुली भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोख्रेल आचार्य दिल्लीराम गौतम आचार्य छन्दुराम भण्डारी डाक्टर यदुनन्दन भारद्वाज पत्रकार केशव भट्टराई लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमका अन्त्यमा सहभागीहरूबीच सामूहिक बनभोजको सम्पन्न गरियो । बनभोजले एकआपसमा आपसी सम्बन्ध सुदृढ पार्न थप सहयोग पुगेको सहभागीहरूले बताएका छन् ।