काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान) का अध्यक्ष गणेश कार्कीले अबको आर्थिक क्रान्ति उर्जाबाट शुरु गर्नुपर्ने बताउनुभएको छ ।
शुक्रवार काठमाडौंमा आयोजित दाना खोला हाइड्रोपावर योजनाको वित्तीय व्यवस्थापन हस्ताक्षर समोरोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अब उर्जाको क्षेत्रबाट नै देशलाई समृद्ध बनाउन सकिने उल्लेख गर्नुभयो ।
उहाँले अबको सरकारको लक्ष्य २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्नेमा हुनुपर्ने बताउनु भयो । उहाँले उत्पादनको लागि मुख्य चुनौति ६७ खर्ब रुपैयाँ जुटाउनु रहेको बताउनु भयो । उहाँले सरकारले सहज नीति बनाउनसके २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्न निजी क्षेत्र तयार रहेको बताउनु भयो ।
उहाँले वन, भूमि लगायतका नीतिगत समस्याहरु सरकारले समाधान गर्नुपर्ने बताउनु भयो । अब शक्तिशाली उर्जा मन्त्रालय बनाएर सम्पूर्ण कामहरु उर्जा मन्त्रालयबाट गर्ने व्यवस्था गर्न माग गर्नुभयो ।
अध्यक्ष कार्कीले २८ हजार ५ सय मेगावाट विद्युत उत्पादका लागि सबैभन्दा ठूलो बाधक उर्जा विधेयक भएको उल्लेख गर्नुभयो । उर्जा विधेयकलाई लगानीमैत्री बनाएर पास गर्नुपर्ने बताउनु भयो ।