बुद्धशान्ति । झापाको बुद्धशान्ति गाउँपालिकाका वडा नं ६ र ७ जोड्ने देशकै तेस्रो तथा कोशी प्रदेशकै लामो झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ । निर्माण सम्पन्न भएपछि अहिले उक्त स्थानमा आन्तरिक पर्यटकको आकर्षण बढेको छ । झापाका विभिन्न स्थानसहित इलाम, पाँचथर लगायतका स्थानबाट घुम्नका लागि मानिसहरु आउन थालेको बताइएको छ ।
उदघाटन अगावै पुलबाट वारिपारी गर्न खुला गरेपछि पुल चड्ने र फोटो, टिकटक बनाउनेको संख्या बढेको छ । दैनिक बालबालिकादेखि ८० बर्ष सम्मका सयौ मानिस पुलमा आउने गरेकाले स्थानिय पर्यटन प्रबर्धनमा सहयोग पुग्नुको साथै जरेवर पार्क, धारागोला भ्युटावर र हरित पार्कसम्म मानिसहरु घुमफिर गरि फर्कने गरेको बुद्धशान्ति–(७ का वडाध्यक्ष चन्द्रप्रसाद भण्डारीले बताउनुभयाे ।
पुल हेर्न र वारपार गर्ने चाहना भएकाहरु छुट्टीको समयमा आउने गरेकाले पुलमा भिडभाड नै हुने गरेका छ । गत असार २४ गते झापा क्षेत्र नं १ का सांसद तथा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले शिलान्यास गरेको पुलको उदघाटन पनि शर्माले नै गर्ने कार्यक्रम रहेको छ ।
मेची राजमार्गबाट ५०० सय मिटर पूर्व टिमाई खोलामाथि बनेको चार सय ७७ मिटर लम्बाइको झोलुङ्गे पुल सञ्चालनमा आएपछि बुद्धशान्ति गाउँपालिकाका दुई वटा वडा जोड्नुका साथै इलाम र झापाका गाउँहरूका मानिसहरुलाई आवत–जावतमा सहज हुने वडाध्यक्ष भण्डारिले बताउनुभयाे ।
२०८१ जेठ २४ गते पाँच करोड ९८ लाख ८१ हजार ७६१ रुपैयाँ ३५ पैसामा थानी जगदम्बा जेभी काठमाण्डौले ठेक्का पारेर उक्त पुल निर्माण सम्पन्न गरी हस्तान्तरणको चरणमा पुगेको हो ।
ठेक्का सम्झौता भएको पुलको निर्माण २०८३ जेठ २३ गते भित्रमा निर्माण सम्पन्न गरिसक्नु पर्ने भए पनि करिब ६ महिनामै उक्त पुलको काम सम्पन्न गरेको हो ।