एआईबारे अनौठो भविष्यवाणी :३० वर्षमा मानवता पूर्ण रूपमा हराएर जाने


१६ पुष २०८१, मंगलवार १०:१० मा प्रकाशित

काठमाडौँ, १६ पुसः एआई गडफादरको उपनामले चिनिने ब्रिटिश-क्यानडेली कम्प्युटर वैज्ञानिक प्रोफेसर ज्योफ्रे हिन्टनले कृत्रिम बुद्धिमता (आर्टिफिसियल इन्टेलिजेन्स)बारे अनौठो भविष्यवाणी गरेका छन् । वैज्ञानिक हिन्टनले अबको ३० वर्षमा एआईका कारण मानवता पूर्ण रूपमा हराएर जाने सम्भावना उच्च हुँदै गएको दाबी गरेका हुन् । 

प्रविधि क्षेत्र अपेक्षाभन्दा ‘धेरै छिटो’  परिवर्तन भइरहेको परिप्रेक्ष्यमा त्यसले मानवता नै सङ्कटमा पार्ने जोखिम बढाएको भन्दै उनले चेतावनी दिएका छन् । वैज्ञानिक हिन्टनका अनुसार आगामी तीन दशकभित्र एआईले मानव सभ्यता समाप्त पार्ने सम्भावनालाई अझ नजिक ल्याएको छ ।

सूचना तथा प्रविधि क्षेत्रमा महत्त्वपूर्ण योगदान दिएका हिन्टनले यस वर्ष भौतिक विज्ञानमा नोबेल पुरस्कार समेत पाएका थिए । उनै प्रोफेसर हिन्टनले एआईका कारण मानवता लोप हुने सम्भावना १० देखि २० प्रतिशतसम्म बढेको तर्क अघि सारेका छन् । यसअघि उनले एआई प्रविधिले मानवताका लागि विनाशकारी परिणाम निम्त्याउने सम्भावना १० प्रतिशत रहेको विश्लेषण गरेका थिए । 

बीबीसी रेडियो फोरको ‘टुडे कार्यक्रम’मा एआई सङ्कटको सम्भावनाबारे सोधिएको प्रश्नमा हिन्टनले यस्तो भविष्यवाणी गरेका हुन् । त्यस क्रममा टुडे कार्यक्रमका पाहुना सम्पादक तथा पूर्व चान्सलर साजिद जाविदले “तपाईँको अनुमान बढ्दैछ” भनेपछि हिन्टनले जवाफ दिए, “यदि सोच्यौँ भने हामीले आफूभन्दा बढी बुद्धिमान चिजसँग कहिल्यै सामना गर्नुपरेको छैन ।”

उनले अगाडि थपे, “कम बौद्धिक चिजले उच्च बौद्धिक चिजलाई नियन्त्रण गरेका कति उदाहरणहरू छन्, तपाईँलाई थाहा छ ? यस्ता केही उदाहरण होलान् । त्यसमध्ये मलाई थाहा भएको एउटै उदाहरण हो, आमा र बच्चाको सम्बन्ध । जहाँ बच्चाले आमालाई केही हदसम्म नियन्त्रण गर्न सक्छ ।”

लन्डनमा जन्मिएका हिन्टन हाल टोरन्टो विश्वविद्यालयका प्रोफेसर इमिरेट्स हुन् । उनले शक्तिशाली एआई प्रणालीको तुलनामा मानिसहरू तीन वर्षीय बालबालिका जस्तै हुने बताएका छन् ।

“म यस (एआई)लाई यस्तो रूपमा हेर्न मन पराउँछु, आफूलाई र तीन वर्षीय बालकलाई कल्पना गर्नुहोस् । एआईका अघि हामी ती बालबालिका जस्तै हौँ,” उनले भने ।

एआईलाई सामान्यतया त्यस्ता काम गर्न सक्षम कम्प्युटर प्रणालीका रूपमा परिभाषित गरिन्छ, जसका लागि सामान्यतया मानव बुद्धिमत्ताको आवश्यकता पर्छ । गत वर्ष हिन्टनले गुगलको आफ्नो जागिरबाट राजीनामा दिएका थिए । त्यसपछि एआईको अनियन्त्रित विकासका जोखिमबारे उनी खुलेर बोलेका थिए । जसलाई विश्वभरका सञ्चारमाध्यमले प्राथमिकता दिए । 

 “एआईमा हामी अहिले जहाँ छौँ, त्यहाँ पुग्न धेरै समय लाग्नेछ भन्ने मेरो अनुमान थियो,” आफ्नो प्रारम्भिक कामका बेला आफूले गरेको पूर्वानुमानलाई लिएर हिन्टनले भने ।

उनले अगाडि थपे, “हामी अहिले यस्तो स्थितिमा छौँ, जहाँ यस क्षेत्रका अधिकांश विज्ञले सम्भवत: अबको २० वर्षभित्र हामीले मानिसभन्दा बढी बुद्धिमान एआई विकास गर्नेछौँ भन्ने सोच्छन् । र, यो एकदमै डर लाग्दो विचार हो ।”

प्रविधि क्षेत्रमा विकासको गति आफूले अपेक्षा गरेकोभन्दा अत्यन्तै तीव्र भएकाले प्रविधिको नियमनको लागि देशहरू जुट्नुपर्ने उनको सुझाव छ । एआईलाई अदृश्य हातको संज्ञा दिँदै उनले भने, “मेरो चिन्ता अदृश्य हातले हामीलाई सुरक्षित राख्ने छैन भन्ने हो । त्यसैले ठुला कम्पनीले यसलाई मुनाफा कमाउने उद्देश्यका निम्ति मात्र लिनु पर्याप्त छैन । यसलाई सुरक्षित तरिकाले विकास गर्नका लागि थप कदमहरू चाल्नु आवश्यक छ ।”

एआई क्षेत्रका अग्रणी कम्पनीलाई सुरक्षा सम्बन्धी थप अनुसन्धान गर्न केवल सरकारको नियमनले मात्र बाध्य पार्ने उनको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here