झापा । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र पुगेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओलीविरुद्ध आक्रोश पोखेका छन् । झापाको गौरीगञ्जमा आयोजित खबरदारी सभालाई सम्बोधनका क्रममा पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले ओलीमाथि गम्भीर आरोप लगाएका छन् । यसअघि पटक–पटक सत्ताका सहयात्री रहेका उनीहरूबीच पछिल्लोपटक कांग्रेससँगको सत्ता सहकार्यपछि सम्बन्ध तितो छ ।
उनले ओलीलाई देशकै ‘जाली, झेली, कपटी र बेइमानी’ भनेका छन् । ‘अहिलेका प्रधानमन्त्री देशको जाली, झेली, कपटी, बेइमानी । मेरो लागि त यति धेरै जाली, यति धेरै झेली मान्छे उनको ठाउँमा म बोल्दै छु,’ प्रचण्डले ओलीलाई भने, ‘जालझेल बाहेक उहाँको दिमागमा अरु केही छैन ।’ साथै, उनले बिर्तामोडको गिरिबन्धु टी स्टेटमा ओलीले गरेको बदमासीलाई पर्दाफास गरेरै छाड्ने दाबी गरे । सम्बोधनको क्रममा प्रचण्डले आफूलाई अलोकतान्त्रिक र तानाशाही ढंगबाट हटाइएको जिकिर गरे ।