कुरानले पनि समाज र मानव जातिको समृद्धिका लागि प्रेरणा दिन्छः सभामुख घिमिरे


९ पुष २०८१, मंगलवार ११:२० मा प्रकाशित


काठमाडौं ।
सभमुख देवराज घिमिरेले कुरान वाचन प्रतियोगिताले शिक्षाको विकासका लागि महत्वपूर्ण भुमिका खेल्ने बताउनुभएको छ ।


सोमवार काठमाडौंमा एक कार्यक्रमबीच दोस्रो कुरान वाचन प्रतियोगिताका विजयी विद्यार्थीलाई पुरस्कार हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै सभामुख घिमिरेले यस्तो बताउनुभएको हो ।

उहाँले कुरान वाचन प्रतियोगिता आफैँमा रचनात्मक काम रहेको भन्दै कुरानले पनि अन्य धर्मग्रन्थझैँ समाज, मानव जातिको मुक्ति, सुख र समृद्धिको बाटो देखाउने उल्लेख गर्नुभयो । उहाँले कुरानको अध्ययनबाट समाजलाई सही दिशामा लैजानसक्ने प्रेरणा मिल्ने बताउनु भयो । 


दोस्रो कुरान वाचन प्रतियोगिता नेपाल मुस्लिम आयोग र साउदी अरब सरकारको सहयोगमा भएको हो । प्रतियोगितामा नेपालका विभिन्न मदरसामा अध्ययनरत विद्यार्थीले सहभागिता जनाएका थिए । ६ विधामा कुरान वाचन प्रतियोगिता आयोजना गरेकोमा २ वटा विधामा किशोरीहरुले सहभागिता जनाएका थिए ।

अनलाइनबाट नेपालका विभिन्न मदरसामा अध्ययनरत ४ सय विद्यार्थी छनोट गरिएकोमा १८ जनालाई पुरस्कार वितरण गरिएको हो । कुरान वाचन प्रतियोगितामा प्रथम हुनेलाई ४ लाख, दोस्रो हुनेलाई २ लाख ४५ हजार बाँकी सबै १६ जनालाई ५४ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ । कुरान वाचन प्रतियोगितामा वागमती, गण्डकी, लुम्बिनी, कोशी, मधेस प्रदेशका विद्यार्थीको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here