होप फर चिल्ड्रेन संस्थाद्वारा २ सय बालबालिकाहरुलाई न्यानो कपडा बितरण


१ पुष २०८१, सोमबार १६:५० मा प्रकाशित


बिर्तामोड , देव बाँस्कोटा होप फर चिल्ड्रेन संस्थाको आयोजनामा बिर्तामोडमा रहेको इन्द्रचन्द्र कलेजमा अति विपन्न समुदायका बालबालिकाहरुलाई लक्षित गरी न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न भएको छ ।


कार्यक्रममा जाडो मौसमलाई ध्यानमा राख्दै बिर्तामोड ४ र ६ नं वडा भित्र रहेका विपन्न समुदायका २०० बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरिएको थियो । यस अवसरमा बोल्दै होप फर चिल्ड्रेन परियोजना संस्थाकी झापा शाखा संयोजक सुजता बिकले संस्थाले लामो समयदेखी बालबालिकाहरुको शिक्षा स्वास्थ्य र चरित्र निमार्णको क्षेत्रमा काम गर्दै आइरहेको बताउनुभयो ।

उहाँले बालबालिकाका अभिभावकहरुलाई पनि समय समयमा सिपमुलक तालिम दिनुका साथै निशुल्क स्वास्थ्य परिक्षण गर्दे आइरहेको बताउनुभयो । उहाँले समाजमा भएका विकृति र विसंगतिलाई पनि नियन्त्रण गर्नका लागि विभिन्न जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको बताउनुभयो ।


कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बिर्तामोड वडा नं ६ का वडाध्यक्ष सुर्य प्रसाद कन्दङवाले आफ्ना नानीबाबुहरुलाई मोबाइल हेर्न नदिन आग्रह गर्नुभयो । उहाँले बालबालिकाहरु भविष्यका कर्णधार भएका कारणले राम्रो शिक्षा दिक्षा दिनु सबै अभिभावकहरुको कर्तव्य रहेको बताउनुभयो ।

सहभागी अभिभावकहरुले यस्तो कार्यले बालबालिकालाई जाडोबाट जोगाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए । होप फर चिल्ड्रेन संस्थाले गरेको सहयोगको उपस्थित बालबालिका तथा अभिावकहरुले खुलेर प्रशंसा समेत गरेका थिए । होप फर चिल्ड्रेन संस्थाले विगतदेखि नै विपन्न वर्गका लागि विभिन्न सामाजिक सहयोग कार्यक्रम गर्दै आएको छ । साथै यस संस्थाले बालबालिकाहरुलाई निशुल्क ट्युसन कक्षा र उनीहरुको स्वास्थ्य जाँच समेत गर्दै आइरहेको छ ।

संस्थाका अनुसार आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिने योजना रहेको छ । कार्यक्रममा अभिभावक, जनप्रतिनिधि, शिक्षक, प्राध्यापक र सञ्चाकर्मीहरुको उत्साहजनक सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here