काठमाडौं । नेपाल पत्रकार महांघको आगामी मंसिर २८ मा हुने महाधिवेशनमा अध्यक्ष पदका लागि प्रेस चौतारी नेपाल र नेपाल प्रेस युनियनको तर्फबाट महिला पत्रकारहरूको सञ्जाल सञ्चारिका समूहकी पूर्वअध्यक्ष निर्मला शर्मा संयुक्त उम्मेदवार बन्नुहुने भएको छ ।
आईतवार काठमाडौंमा उम्मेदवार घोषणा सभा आयोजना गर्दै अध्यक्ष पदका लागि साझा उम्मेदवारका रुपमा नेकपा (एमाले) निकट पत्रकार संगठन प्रेस चौतारी नेपालका तर्फबाट शर्मालाई अध्यक्ष पदको लागि अघि सारिएको हो ।
उम्मेदवारी घोषणा गर्दै शर्माले पत्रकारले स्वतन्त्र भएर लेख्न पाउने अधिकारको सुनिश्तिता आफ्नो टिमले गर्ने दाबी गर्नुभयो । उहाँले जुन संस्थाबाट आएपनि महासंघमा आफूहरु राजनीति गर्नको लागि नभई श्रमजीवि पत्रकारहरुको हकहितका मुद्दा उठाउन जान लागेको बताउनु भयो ।
उहाँले देशभरबाट प्रेस चौतारी र प्रेस युनियनमा आवद्ध पत्रकारहरुको सुझावको आधारमा पत्रकार महासंघमा आफू नेतृत्वको टिमले काम गर्ने उहाँको भनाइ छ । उहाँले व्यावसायिक र जवाफदेही पत्रकारीताको प्रवद्र्धन गर्नु नै सबै संस्थाहरुको साझा उद्देश्य रहेको उल्लेख गर्नुभयो ।
आफूहरु जुनसुकै राजनीतिक दल निकटका संस्थाहरुमा आवद्ध भएपनि व्यवसायिक पत्रकारिताको प्रवद्र्धनका लागि काम गर्नुपर्ने उहाँको भनाइ छ । महासंघको महाधिवेशनका लागि प्रेस चौतारी नेपाल र नेपाल प्रेस युनियनले भागबण्डा गर्ने सहमति गरेका छन् ।
सहमतिअनुसार चौतारीले अध्यक्ष, महिला उपाध्यक्ष, आदिवासी जनजाति सचिव, कोषाध्यक्ष र लेखा संयोजकसहित २२ सदस्यमा पाएको छ । बाँकी पदाधिकारीहरूमा युनियनबाट उम्मेदवारी हुनेछ ।