उपनिर्वाचनको नतिजा निराशाजनक छैन तर समिक्षा गर्छौंः ईश्वर पोखरेल


१९ मंसिर २०८१, बुधबार १०:५६ मा प्रकाशित



काठमाडौं ।
सत्तारुढ दल नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले स्थानीय तह उपनिर्वाचनको समिक्षा गर्ने बताउनुभएको छ ।


न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले उपनिर्वाचनको समग्र प्रतिवेदन आएपछि पार्टीका तर्फबाट भएका कमी, कमजोरीबारे समिक्षा गर्ने बताउनुभएको हो । उहाँले २०७९ सालको निर्वाचनमा पराजित भएका केही ठाउँमा समेत नेकपा एमाले विजयी भएको बताउनु भयो ।

उहाँले स्थानीय तहको निर्वाचनलाई लिएर निराश हुनुपर्ने कारण नरहेको बताउनु भयो । आफ्नो पकड क्षेत्र भएका ठाउँमा पनि मत घटेकोप्रति समीक्षा गर्ने बताउनु भयो । उहाँले काठमाडौंको कीर्तिपुर नगरपालिकाको परिणाम आफ्नो पक्षमा नरहेपनि गत निर्वाचनको भन्दा प्रगति भएको दाबी गर्नुभयो । उहाँले अहिले पुराना राजनीतिक दलहरु आउटडेटेड भए भन्ने भाष्य खडा गरिएपनि जनमतबाट पुष्टि हुन नसकेको बताउनु भयो ।

जनताले अहिले पनि पुराना राजनीतिक दलहरुमा आशा र विश्वास कायमै राखेको उहाँको दाबी छ । उहाँले राष्ट्रिय राजनीतिमा पुराना दलहरुको भुमिका कमजोर भन्ने कुरालाई जनताले अस्वीकार गरेको बताउनु भयो । 

उपनिर्वाचनबाट एमालेले निर्वाचनसँग गाँसिएका कुराहरुमा थप व्यवस्थित ढंगको व्यवस्थापन गर्नुपर्छ भन्ने पाठ सिकेको र त्यही आधारमा अघि बढ्ने उहाँको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here