चितवन । चितवनको भरतपुरमा रहेको विरेन्द्र बहुमुखी क्याम्पसमा विद्यार्थी संगठनहरुले लगाएको ताला शुक्रबारदेखी खुलेको छ ।
विद्यार्थी सङगठन र क्याम्पस प्रशासनको लामो छलफल सहमतिमा पुगेपछि ताला खुलेको हो । क्याम्पसका प्रमुख गोविन्द सापकोटा, अनेरास्वयु विद्यार्थी सङगठनका अध्यक्ष लिलाराम पौडेल, अखिल क्रान्तिकारीका अध्यक्ष अंकित दवाडीद्धारा हस्ताक्षरीत सहमती पत्रमा विर्सिएका विद्यार्थीले उठाएका माग १० दिन भित्र पुरा गर्ने सहमति सँगैँ ताला खुलेको छ ।
क्याम्पस भित्र हुने विभिन्न अराजक क्रियाकलाप रोक्नुपर्ने माग सहित आन्दोलनमा उत्रेका विद्यार्थी संगठनको माग पूरा गर्न क्याम्पस प्रशासन सकरात्मक देखिएको छ । क्याम्पसमा चौतर्फी पर्खाल बनाउन, क्याम्पस भित्र झै—झगडा भएमा टियु आचारसंहिता अनुसार कारबाही गर्ने लगाएत सहमति भएको अखिल क्रान्तिकारी क्याम्पस ईकाई सचिव रुकु बस्नेतले जानकारी दिएकी छन् । १० दिनभित्र विद्यार्थीका माग पुरा नभएमा संगठन कडा भएर प्रस्तुत हुने अध्यक्षद्धय पौडेल र दवाडीको भनाई छ ।
यसअघि गत, साउन ३ गते विद्यार्थीहरुको हकहितमा लडेका आफ्नो विद्यार्थी नेता क्याम्पस हाताभित्र कुटिएको भन्दै संयुक्त विद्यार्थी सङगठनले क्याम्पस अनिश्चतकालीन बन्द गरेको थियो ।





