काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नागरिकको योगदानमा आधारित बीमा प्रणालीको विकास गर्नुको विकल्प नरहेको बताउनुभएको छ ।
बुधवार भक्तपुर क्यान्सर अस्पतालमा १४ वर्ष मुनिका क्यान्सर बिरामीलाई निःशुल्क उपचार सेवाको शुभारम्भ गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नागरिकको सहभागिता हुनेगरी निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने स्थिति बनाउनुपर्ने बताउनु भयो ।
उहाँले स्वास्थ्य मन्त्रालयले मात्रै लागू गरेर बीमा प्रणालीको विकास नहुने भन्दै निजी क्षेत्र र अन्य सम्बन्धित निकायहरुले पनि सहयोग गर्नुपर्ने बताउनु भयो । उहाँले नेपालमा संगठित क्षेत्रमा, सरकारी क्षेत्रमा काम गर्नेहरुले तलवबाट दुई प्रतिशत बीमा बोर्डमा दिए बीमा कार्यान्वयनमा सहज हुने उल्लेख गर्नुभयो ।
आजबाट भक्तपुर क्यान्सर अस्पताल, भक्तपुर, विपी कोईराला क्यान्सर अस्पताल, चितवन, कान्ति बाल अस्पताल, महाराजगञ्ज गरी तीन वटा अस्पतालहरुमा १४ वर्ष मुनिका क्यान्सरको समस्या भएका बालबालिकाहरुको निःशुल्क उपचार हुने पनि मन्त्री पौडेलले जानकारी दिनुभयो ।
मन्त्री पौडेलले माघ २२ गते क्यान्सर निरोधक दिवसको दिन नेपालका १६ लाख किशोरीहरुलाई एचपिभी भ्याक्सिन दिने कार्यक्रम तय गरेको बताउनु भयो ।