घुस लिएको अभियोगमा नासुविरुद्ध विशेष अदालतमा मुद्दा दायर


९ श्रावण २०७६, बिहीबार २२:४० मा प्रकाशित

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँ महानगरपालिका समाजिक विभागका नायब सुब्बा कृष्णप्रसाद सोतीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

सामाजिक विभागमार्फत कार्यान्वयनमा आएको एक कार्यक्रमको रकम भुक्तानी गरेबापत सेवाग्राहीसँग रु एक लाख सात हजार घुस मागेको अभियोग सोतीमाथि लागेको आयोगले जनाएको छ । सामाजिक विकासमार्फत खर्च भएको रकमको पाँच प्रतिशत कमिशनबापतको रकम घुस मागेको आरोप सोतीमाथि लागेको छ । बिगो असुल गरी कैद सजायको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

यस्तै आयोगले घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयमा कार्यरत खरीदार पुष्पर अधिकारीलाई रु चार हजार घुस लिएको अभियोगमा पक्राउ गरेको छ । होटल व्यवसाय दर्ता गरिदिने प्रयोजनार्थ एक सेवाग्राहीसँग घुस मागेको अभियोग अधिकारीमाथि लागेको छ । आयोगले अधिकारीको कोठामा खानतलासी गर्दा रु ७३ हजार ९५० बराबरको रकम समेत पक्राउ गरेको छ । आरोपी अधिकारीको थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

यस्तै आयोगले महानगरीय प्रहरी वृत्त गौशालामा कार्यरत प्रहरी नायब निरीक्षकद्वय रमेशबहादुर पाण्डे र राजु स्वर्णकारलाई सार्वजनिक मुद्दा चाँडै मिलाइदिने भन्दै रु १८ हजार घुस मागेको आरोप लागेको छ । आयोगको टोलीले उनीहरुलाई काठमाडौँ महानगरपालिका–८ स्थित मिथिला काबेली यातायात सेवा प्रालि र अनलाइन डिलक्सको काउन्टर अगाडिबाट नियन्त्रणमा लिइएको हो । आरोपीद्वयको थप अनुसन्धान भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here