विश्वविद्यालय केही व्यक्तिहरुबाट असुरक्षित छ, सरकारले हस्तक्षेप गर्नुपर्छः मन्त्री भट्टराई


८ कार्तिक २०८१, बिहीबार १८:२९ मा प्रकाशित


काठमाडौं ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विश्वविद्यालय केही व्यक्तिहरुका कारण असुरक्षित रहेको भन्दै असुरक्षित अवस्थाको अन्त्य गर्न आवश्यक पर्दा सरकारले हस्तक्षेप गर्नुपर्ने बताउनुभएको छ ।


बिहीवार सरकार गठनको सय दिनको अवसरमा मन्त्रालयबाट भएको प्रमुख उपलब्धिहरुको सार्वजनिक गर्न आयोजित पत्रकार भेटघाटमा बोल्दै मन्त्री भट्टराईले यस्तो बताउनुभएको हो । उहाँले विश्वविद्यालय राजनीतिक दल र विद्यार्थी युनियनहरु भन्दा बाहेकको एउटा समूहबाट असुरक्षित भएको बताउनु भयो ।

उहाँले सो समूह विश्वविद्यालयमा निरन्तर बस्ने र प्राध्यापकहरुलाई धम्क्याउने गरेको भन्दै त्यसको अन्त्यका लागि सरकारले हस्तक्षेप गर्नुपर्ने बताउनु भयो । उहाँले विभिन्न विश्वविद्यालयहरु तालाबन्दीको अवस्थामा हुँदा तालाबन्दी अन्त्यका लागि सरकारले उच्च स्तरीय आयोग बनाउन लागेको बताउनु भयो ।

आयोगले अध्ययन सकेपछि विश्वविद्यालयमा हुने हस्तक्षेपलाई रोक्न मापदण्ड बनाइने र सोही अनुरुप विश्वविद्यालयलाई निर्देश गर्ने उहाँले जानकारी दिनुभयो । 

मन्त्री भट्टराईले शिक्षकले राजनीतिमा लाग्ने कि नलाग्ने भन्ने कुराको समाधान विद्यालय शिक्षा ऐनले दिने भन्दै छिटोभन्दा छिटो ऐन पारित गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सोही ऐनले शिक्षकहरु कस्तो हुने भन्ने कुराको परिभाषा गर्ने बताउनु भयो । उहाँले ऐन पारित भएपछि विद्यालय क्षेत्रभित्र देखिएका सबै बेथितिहरुलाई अन्त्य गर्न सकिने बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here