घट्दै मखमली फूल र मालाको माग, निराश छन् गुण्डुवासी


६ कार्तिक २०८१, मंगलवार १३:०३ मा प्रकाशित

काठमाडौं । तिहार आउन अब केही दिन मात्रै बाँकी छ । यस वर्ष कार्तिक १८ गते भाइटिका परेको छ । १४ गतेदेखि तिहार विधिवत रुपमा शुरु हुनेछ । यतिबेला भक्तपुरका फूल व्यवसायी र किसानलाई मखमली फूलको माला बनाउन भ्याइ नभ्याइ छ ।

तिहारमा मखमली फूलको माला विशेष मानिन्छ । त्यसैले पनि भक्तपुरवासी यतिबेला माला उन्न, फूल टिप्नमा व्यस्त छन् । भक्तपुरको गुण्डुका कृषक मखमली फूल टिप्न बिहानै बारीमा पुग्छन् । दिउँसो घाम लागेको बेलामा बिहान टिपेको फूल उन्छन् र माग गरेअनुसार बजार पठाउँछन् ।

मखमली फूलको पकेट मानिने गुण्डुको मुख्य आयश्रोत नै फूलको व्यापार हो । किसान एक अर्कामा अर्मपर्म गरी मखमली फूलको खेती गर्दछन् ।  नेपालीहरूको सांस्कृतिक पर्व तिहारमा विशेष माग हुने र नजिकको बजार (काठमाडौं) लाई पायक बनाइ माला उन्ने काम गरिरहेको स्थानीयवासीले बताए । भक्तपुर गुण्डुकी जानु कार्की यस वर्ष धेरै पानी परेकाले फूल राम्रो नभएको बताउनु हुन्छ । अहिलेसम्म २५ हजार रुपैयाँ जतिको माला विक्री गरिसकेको बताउनु भयो ।

उहाँले माला र फूलको मूल्य भने विगतको सरह नै रहेको बताउनु भयो । एउटा मालाको २५ रुपैयाँसम्ममा बेच्ने गरेको बताउनु भयो । स्थानीय सुमित्रा कार्की फूल राम्रो नभएको गुनासो गर्नुहुन्छ । युवा पुस्ताले चासो नदेखाउने र वृद्धवृद्धाले काम गर्न नसक्दा गुण्डुमा फूलको उब्जनी नै मासिने हो की भन्ने चिन्ता उहाँलाई छ ।

मालाको मूल्य विगतको झैँ यस वर्ष पनि २० रुपैयाँ नै रहेको बताउनु भयो । आफूसँग किनेर लैजानेहरुले बढी नाफा खाने गरेको तर किसानलाई २० रुपैयाँ भन्दा बढी नदिने गरेको गुनासो उहाँको छ । दुःख र मेहनतअनुसार मूल्य नभएको बताउनु भयो । 


फूलको व्यापार क्रमशः वर्षेनी घट्दै गएको किसान बताउँछन् । यस वर्ष विगतको तुलनामा फूलको उत्पादन कम भएको र बजार पनि नरहेको किसानको गुनासो छ । विचौलियाकाकारण किसानसँग व्यापारीहरुको भेट नहुने र विचौलियाले बाटोबाटै व्यापारीहरुलाई फर्काइदिने गरेको किसान बताउँछन् ।

सरकारले पनि उन्नत प्रकारको बीउबिजन दिन नसकोको गुनासो उनीहरुको छ । साथै आयातित फूलले बजार लिँदा देशका किसानले लगाएको फूल विक्री हुन छोडेको गुनासो उनीहरुको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here