रोलिङ च्यालेन्जकपमा आयोजकको शानदार सुरुवात


३ कार्तिक २०८१, शनिबार १८:५५ मा प्रकाशित

मेचीनगर । आयोजक रोलिङ क्लबले धुलाबारीमा आजबाट सुरु भएको आठौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण रोलिङ च्यालेन्जकप २०८१ मा उत्कृष्ट सुरुवात गरेको छ ।

उद्घाटन खेलमा आज रोलिङ क्लबले सुनसरीको सशस्त्र प्रहरी बल (एपिएफ) लाई ५–२ गोल अन्तरले हराउँदै शानदार जित निकाल्यो । जितसँगै रोलिङ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । खेलको नवौँ मिनेटमा रोलिङका उत्सव राईले गोल गर्दै अग्रता दिलाए ।


त्यस्तै, खेलको २५ औँ मिनेटमा रोलिङका आशिष चापागाईंले दोस्रो गोल गरेका थिए । खेलको ४० औँ मिनेटमा रोलिङका कप्तान निरज कार्कीले अर्को एक गोल गरे ।
खेलको ५८ औँ मिनेटमा उत्सव राईले व्यक्तिगत दुई तथा टिमका लागि चौथो गोल गरे ।

खेलको इन्ज्युरी समयमा रोहण कार्कीले गोल गर्दै फराकिलो जित निश्चित गराए । एपिएफका लागि खेलको ३३ औँ मिनेटमा समिर दर्जी कार्की र खेलको इन्ज्युरी समयमा कुमार राईले गोल फर्काए ।


खेलको प्लेयर अफ द म्याच रोलिङका दुई गोलकर्ता उत्सव राई भए । उनले नगद पाँच हजार र ट्रफी पाए । उनलाई मेचीनगर १० का वडा अध्यक्ष नारायण पोखरेल, खेलप्रेमी तुमन रोय र झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामाले नगद तथा ट्रफी प्रदान गरे ।


क्लबका अध्यक्ष नोबेम्बर नेम्वाङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि मेचीनगर नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले शुभकामना व्यक्त गर्दै आगामी संस्करणमा पालिकाले पूर्णरुपमा सहयोग गर्ने प्रतिबद्धता जनाए ।


कार्यक्रममा अध्यक्ष नेम्वाङले स्वागत गर्दै औचित्यमाथि प्रकाश पारेका थिए । कार्यक्रमको सञ्चालन सचिव महेश खड्काले गरेका थिए । भोलि हुने दोस्रो क्वार्टर फाइनल खेलमा दार्जिलिङको मानेभञ्ज्याङ एफसी र राष्ट्रिय जागृति क्लब इटहरीबीच प्रतिस्पर्धा हुनेछ ।

धुलाबारी माविको खेल मैदानमा जारी प्रतियोगिताको फाइनल खेल कात्तिक १० गते हुने क्लबका सचिव महेश खड्काले जानकारी दिए । प्रतियोगिताको विजेताले नगद ३ लाख र उपविजेताले नगद एक लाख ५० हजार, ट्रफी र मेडल पाउनेछ ।

प्रत्येक खेलको प्लेयर अफ द म्याचले ५ हजार रुपैयाँ पाउँदा विधागत पुरस्कार नगद १५ हजार रुपैयाँ पाउने छन् । प्रतियोगिता सम्पन्न गर्न ३५ लाख ३६ हजार रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here