चियाक्षेत्रमा समस्यै समस्या, अझै पनि श्रमिक चुहिने छानामै बस्न बाँध्य


३ कार्तिक २०८१, शनिबार १७:०३ मा प्रकाशित

मेचीनगर । झापाको मेचीनगरमा शनिबार आयोजित एक कार्यक्रमका सहभागी वक्ताहरुले चिया बगान सञ्चालकलाई मालिक र धेरैलाई मजदुरका नेता बनाउने श्रमिकहरुको अवस्था भने अहिलेसम्म जस्ताको तस्तै रहेका बताएका छन् ।

धेरै श्रमिकका तीन चार पुस्ताहरु चिया श्रमिकका रुपमा रहे पनि हालसम्म चुहिने छानोमूनि नै बस्न बाँध्य भएको सहभागीहरुको भनाई थियो ।

अखिल नेपाल ट्रेड यूनियन महासंघले आईएलओको आर्थिक सहयोगमा नगरपालिकाको सभाहलमा आयोजना गरेको स्थानीयतहका जनप्रतिनिधि तथा चिया क्षेत्रमा कार्यरत श्रमिक प्रतिनिधिहरूबीच व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य प्रवर्द्धन सम्बन्धि एकदिने अन्तरक्रियामा सहभागी जनप्रतिनिधिहरुले विशेषगरी चिया तथा अन्य क्षेत्रमा कार्यरत मजदुरको स्वास्थ्य सुरक्षाका बारेमा सहभागीहरूबीच अन्तरक्रिया गदैं यस्तो बताएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिकाका निमित्त नगरप्रमुख मीना पोख्रेल उप्रेतीले स्थानीय सरकारलाई हरेक क्षेत्रका श्रमिकहरुका समस्याका बारेमा जानकारी भएको र ती समस्या सम्बोधन गर्न स्थानीय सरकार लागि परेको स्पष्ट पार्नुभयो ।

श्रमिकहरुको पञ्जिकरणका लागि मजदुरहरुका विभिन्न संघ संगठनहरुका प्रमुख प्रतिनिधिहरुसँग पटक पटक छलफल र संवाद गरेपछि अहिले पञ्जिकरणको काम अन्तिम विन्दुका पुगेको समेत उहाँले स्पष्ट पार्नुभयो ।

स्थानीय सरकारको न्यायिक समितिमा मजदुर र मालिकबीचका विवादहरुका थुप्रै विषय दर्ता हुने र त्यसलाई प्राथमिकताका आधार द्रुत गतिमा निर्णयमा पुग्ने गरेको समेत उहाँको भनाई थियो । हरेक क्षेत्रका मजदुरहरुको हक, हित अधिकार सुरक्षा र ग्यारेन्टीका बारेमा स्थानीय सरकार गम्भीर रहेको उहाँको भनाई छ ।

उहाँले मजदुरहरुलाई आफुलाई परेको पीर मर्का र समस्याका बारेमा स्थानीय सरकारलाई जानकारी गराउन समेत अनुरोध गर्नुभयो । कार्यक्रमका विशिष्ट अतिथि प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले गास, वास र कपास हरेक मानिसका आधारभूत आवश्यकता रहेको भन्दैं स्वास्थ्य शिक्षा र सामाजिक सुरक्षा दोस्रो तहमा र सामाजिक प्रतिष्ठा, आत्मसम्मानका कुरा र कामको मुल्याङ्कनको कुरामा समेत जोड दिनुभयो ।

अन्तरक्रियामा सहभागीहरुले नयाँ श्रम ऐनमा सबै कामदारलाई सामाजिक सुरक्षाको व्यवस्था गरिएको भए पनि चिया मजदुरले यो सुविधा नपाएको गुनासो गरेका थिए । बगानमा काम गर्ने चिया मजदुरले बिमाको सुविधा लामो समयदेखि माग गर्दै आएका भएपनि आयोजनाले कामदारलाई यो सुविधा पनि नदिएको बताएका थिए । कामदारलाई आयोजनाले चिया टिप्ने समयमा माक्स, पञ्जा, प्लास्टिक जुत्तालगायतका सामान्य सामान दिइएको भए पनि पर्याप्त नभएको वक्ताहरुको भनाई थियो ।

बगानमा काम गर्दा गर्दै उमेर बूढो भएर केशसमेत फुल्न थालेको छ तर सेवा सुविधा भने धेरै पहिलेको भन्दा थोरै मात्र बढेको अवस्था हरेक चिया मजदुरहरुको रहेको कार्यक्रममा बताईयो । ‘आयोजनाको बगानमा काम गर्ने मजदुरका लागि अलग्यै शौचालयसमेत छैन ’ मेचीनगर वडा नम्बर ७ का वडाध्यक्ष प्रल्हादमणि ओलीले भन्नुभयो—‘कार्यस्थलमा आराम गर्ने ठाउँ, महिलाका लागि अलग्यै शौचालयजस्ता सुविधा नहुँदा पनि समस्या भएको छ । आयोजनामा काम गर्ने चिया मजदुरको सेवा सुविधा बढाउने विषयमा हामीले पटक पटक सम्बन्धित पक्षसँग छलफल गरेका छौ । ’

सरकारले तोकेको श्रम ऐन अनुसारको सेवासुविधा चिया मजदुरहरुले नपाएको चिया मजदुरका संघ संगठनका प्रमुखहरुको भनाई छ । बगानमा महिनाभर काम गरेर आउने पारिश्रमिकबाट आधा महिना पनि घर खर्च चलाउन नपुग्ने अखिल नेपाल ट्रेड यूनियनका केन्द्रिय उपाध्यक्ष भुपालप्रसाद सापकोटाको गुनासो छ । छोराछोरी पढाउन, औषधि उपचार खर्च, घरमा चाहिने खाद्यान्नलगायतका दैनिक उपभोग्य वस्तु खरिदसमेत गर्न नपुग्ने उहाँको भनाई छ ।

श्रम ऐन, २०७४ तथा श्रम नियमावली, २०७५ मा भएको व्यवस्था नेपाल चिया उत्पादक संघमा आबद्ध चिया बगान तथा कारखानामा कार्यान्वयन गर्ने सहमति भएर मुलुकभरका सवै चिया बगान तथा कारखानामा कार्यरत चिया मजदुरहरुले नपाएको मजदुर नेताहरुको गुनासो छ ।

कार्यक्रमका अन्य वक्ताहरुले अन्य क्षेत्रमा भन्दा चियाक्षेत्रमा कार्यरत मजदुरहरूको स्वास्थ्यमा अलि बढि समस्या देखिने बताए । अत्यन्तै जोखिमका साथ चियाक्षेत्रमा कार्यरत मजदुरहरूले काम गर्नुपरेको उनीहरूको भनाई थियो ।

चियामा विभिन्न प्रकारका ओैषधि प्रयोग हुने भएकाले यसमा कार्यरत मजदुरहरूको स्वास्थ्य जोखिममा परेको सहभागीहरूको भनाई थियो । चियाक्षेत्र मल र विषादीबाहेक अन्य सवै कुरामा आत्मनिर्भर बनेको कार्यक्रममा बताइएको छ ।

कार्यक्रममा वडा नम्बर ५ का वडाध्यक्ष कनकबहादुर कार्की, वडा नम्बर ८ का वडाध्यक्ष गिरिराज धमला, वडा नम्बर १३ का वडाध्यक्ष कृष्णराज सिग्देल अखिल नेपाल ट्रेड यूनियनका केन्द्रिय सचिव संगीता बानियाँलगायतले आ आफ्नो विचार राख्नुभयो ।

अखिल नेपाल ट्रेड यूनियन महासंघ कोशी प्रदेशका अध्यक्ष टीकाराम प्रसाईको सभापतित्वमा भएको आन्तरक्रियामा केन्द्रिय उपाध्यक्ष भुपालप्रसाद सापकोटाले कार्यक्रमको औचित्यमाथि प्रकाशसहित सहभागीलाई शब्दमार्फत स्वागत गर्नुभएको थियो भने, केन्द्रीय उपमहासचिव सीता सापकोटाले सञ्चालन गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here