बासस्थान मासिँदा नेपाली माछा संरक्षणमा समस्या


७ मंसिर २०८१, शुक्रबार १४:३२ मा प्रकाशित

नदी तथा खोलाहरुको पानी सुक्दै जाँदा नेपाली माछा संरक्षणमा समस्या भएको सरोकारवालाहरुले बताएका छन् । बिहीवार विश्व मस्त्य दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै सरोकारवालाहरुले यस्तो प्रतिक्रिया दिएका हुन् ।

उनीहरुले पछिल्लो समय प्राकृतिक रुपमा खोला तथा नदीमा पाउने माछाहरु लोप हुँदै गएको बताए । उनीहरुले खोला तथा नदीहरुमा जलविद्युत उत्पादन लगायत पानी कटानको कारण माछाहरुको बासस्थान मासिएको बताएका हुन् ।

त्रिभूवन विश्व विद्यालय प्राणीशास्त्र केन्द्रिय विभागका अध्यापक सन्तोषी श्रेष्ठले माछाहरु दिनप्रतिदिन लोप हुँदै गइरहेको बताउनु भयो । उहाँले माछाहरु लोप हुनुको प्रमुख कारण बासस्थान मासिनु रहेको बताउनु भयो ।

उहाँले पछिल्लो समय माछाको खोला, नदीको बासस्थान मासिँदै गएको उल्लेख गर्दै नेपाली माछाहरु हुने खोला तथा नदीहरुमा पछिल्लो समय पानी नभएको बताउनु भयो । उहाँले माछाहरुको प्रजननका लागि आफ्नै बासस्थान हुने भएपनि बासस्थान बिग्रँदै गएकाले नेपाली माछा लोप हुँदै गएको बताउनु भयो ।

उहाँले नदीको दोहन जलविद्युत आयोजनाहरु भएको बताउनु भयो । उहाँले जलचरहरुको संरक्षणको लागि जलविद्युत उत्पादन आवश्यकतालाई हेरेर लक्ष्य निर्धारण गर्न आवश्यक रहेको बताउनु भयो ।


पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालले २५२ प्रजातिका माछामध्ये ४५ बढी प्रजातिका माछा नेपालमा मात्रै पाइने बताउनु भयो । उहाँले नेपालमा मात्रै १ लाख १५ हजार मेट्रिक टन माछा उत्पादन हुने गरेको बताउनु भयो ।

उहाँले नेपाल माछामा आत्मनिभर जस्तै रहेको भन्दै करिव ४ हजार मेट्रिक टन माछा मात्रै बाहिरबाट आयात हुने गरेको बताउनु भयो । उहाँले ९५ प्रतिशत मुलुकभित्रै उत्पादन हुने उल्लेख गर्नुभयो । 


उहाँले नेपाली माछा उत्पादन वृद्धिमा लाग्न र प्राकृतिक जलाशयलाई संरक्षण गरेर जलाशयमा आश्रित रहेका जलचरलाई बढवा दिन आवश्यक रहेको बताउनु भयो । उहाँले जलाशयहरु मासिँदै गएकाले आगामी दिनमा उत्पादनमा कमी आउने चिन्ता व्यक्त गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here