चाडपर्व लक्षित सुरक्षाका लागि प्रहरी तयार, खसी बजार, गहना पसलदेखि टिकट काउन्टरसम्म गस्ती


११ आश्विन २०८१, शुक्रबार १४:२२ मा प्रकाशित

काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौंले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ ।


शुक्रबवार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै जिल्ला प्रहरी परिसर, काठमाडौंले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको हो । प्रहरीले चाडपर्व लक्षित सुरक्षाको क्षेत्रहरु, स्थानीय बासिन्दा, आर्थिक कारोबार हुने स्थानहरु, अन्य जिल्लाका लागि सवारी छुट्ने स्थानहरु, व्यक्तिहरुको खालि रहेको घर, सरकारी कार्यालय र भीडभाड हुने बजारहरु रहेको उल्लेख गरेको छ ।

त्यस्तै एटिएम बुथ, खसीबजार, गरगहना पसल, धार्मिक स्थल, शक्तिपीठ, पुजास्थल, बस टिकट काउन्टर, बसपार्क र बस पकेटहरुमा पनि सुरक्षा दिनुपर्ने भन्दै सो स्थानहरुमा सुरक्षाकर्मीको उपस्थिति रहने जनाइएको छ । 


पत्रकार भेटघाटमा बोल्दै प्रहरी वरिष्ठ उपरीक्षक वसन्त रजौरेले प्रहरीले सुरक्षा दिनुपर्ने आवश्यक सबै स्थानहरुमा सुरक्षा दिनका लागि प्रहरी तयार रहेको बताउनु भयो । उहाँले प्रहरीले व्यक्ति तथा सम्पत्तिहरको सुरक्षा गर्ने बताउनु भयो । त्यसैगरी धार्मिक मठमन्दिर तथा जात्राहरुको सुरक्षा गर्ने पनि उहाँले बताउनु भयो ।

उहाँले बढी भीडभाड हुने बैंक तथा वित्तीय संस्थाहरुमा प्रहरी गस्ती गरी सुरक्षा प्रदान गर्ने जानकारी दिनुभयो । त्यसैगरी सहज तथा उचित मूल्यमा टिकटको व्यवस्थापनमा प्रहरी सचेत रहेको र पर्याप्त सवारी साधनको उपलब्धता तथा सहज ट्राफिक सञ्चालनमा सहयोग गर्ने उहाँको भनाई छ ।


त्यसैगरी प्रहरीले सरकारी सम्पत्ति तोडफोड हुनसक्ने र भीडभाड बजारमा पकेटमारी हुन सक्ने भन्दै सुरक्षाका लागि प्रहरीको व्यवस्था मिलाइएको जानकारी दिइएको छ । एटिएम बुथ क्षेत्रतर्फ गस्ती निगरानी गर्ने, गरगहना पसलको सुरक्षामा, शक्तिपीठ, मन्दिर तथा पूजास्थलमा पनि गस्ती हुने उहाँले जानकारी दिनुभयो ।

प्रहरी वरिष्ठ उपरीक्षक रजौरेले शक्तिपीठहरुमा विशिष्ट व्यक्तिहरुको सुरक्षाको व्यवस्था मिलाइएको बताउनु भयो । त्यसैगरी खसी बजारमा पकेटमारी, खसी चोरी, झैझगडा, ठगी, विवाद हुनसक्ने भन्दै सो स्थानहरुमा पनि प्रहरी परिचालन गरिने उहाँले बताउनु भयो ।


टिकट काउन्टरहरुले महंगो भाडा असुल्ने, झैझगडा, चोरी, विवाद हुनसक्ने भन्दै त्यहाँ यात्रु सहायता कक्षको व्यवस्था गरी सुरक्षा व्यवस्थापन गरिने उहाँले उल्लेख गर्नुभयो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here