प्रतिकूल मौसम : अधिकांश आन्तरिक हवाई उडान रद्द  


११ आश्विन २०८१, शुक्रबार १३:०५ मा प्रकाशित

काठमाडौँ । बंगालको खाडी उत्पन्न जलवाष्पयुक्त हावा र न्यून चापीय प्रणालीका कारण भएको बदलीले भारी वर्षा हुँदा देशका मुख्य विमानस्थलहरूबाट उडान हुन सकेको छैन ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाका अनुसार, भारी वर्षाका कारण भद्रपुर, विराटनगर, सिमरा, भरतपुर,पोखरा,सुर्खेतमा शुक्रबारका लागि तय नियमित उडान रद्द भएका छन् । त्यस्तै मुख्य पर्यटकीय क्षेत्र सगरमाथा प्रवेश गर्ने लुक्लामा पनि उडान रद्द भएका छन् । बुद्ध एयरले मौसममा बदली भएका कारण शुक्रबारका सबै पर्वतीय उडान रद्द गरेको जनाएको छ ।

‘जनकपुर, नेपालगञ्ज र धनगढीमा उडान भए तर भारी वर्षाका कारण यी विमानस्थलमा पनि उडान प्रभावित भएका छन्’ प्रवक्ता शेर्पाले भने ।

उनका अनुसार, काठमाडौं विमानस्थलको भिजिबिलिटी (दृश्यता) ३ किलोमिटर हाराहारीमा झरेको छ । हेरेर हुने उडानका लागि ५ किलोमिटर भिजिवबिलिटी आवश्यक पर्छ ।

भारी वर्षाले अन्तर्राष्ट्रिय उडानलाई भने असर नपुर्‍याएको उनले बताए । शुक्रबार ५६ वटा अन्तर्राष्ट्रिय उडानको तालिका रहेको छ । आन्तरिकतर्फ दुईतर्फी गरेर ३ सय वटा उडान गर्न ७ वटा आन्तरिक वायुसेवाको तालिका थियो । बिहान ६ बजेदेखि राती १० बजेसम्म आन्तरिक वायुसेवाले सुगम रुटमा उडान गर्छन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here