चिया निर्यात ५२ प्रतिशतले बढ्यो


९ आश्विन २०८१, बुधबार १८:४४ मा प्रकाशित

झापा । मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा चियाको निर्यात ५२ प्रतिशतले बढेको छ । कार्यालयको तथ्यांकअनुसार चालु आर्थिक वर्षका साउन र भदौमा चार हजार ४१२ मेट्रिक टन चिया निर्यात भएको छ ।

जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५२ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको पहिलो दुई महिनामा नेपालबाट दुई हजार ९०२ मेट्रिक टन चिया निर्यात भएको थियो ।
प्राप्त तथ्यांकअनुसार चिया निर्यातको परिणामसँगै यसको मूल्य पनि बढेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को दुई महिनामा एक अर्ब १३ करोड ३४ लाख १७ हजार बराबरको निर्यात भएको छ । जुन गत आर्थिक वर्ष २०८०/८१ को सोही अवधिको तुलनामा ६२ प्रतिशतले बढी हो । गत आर्थिक वर्षमा सो अवधिमा रु ६९ करोड ९३ लाख ६४ हजार बराबरको चिया निर्यात गरिएको थियो ।

दक्षिण भारतमा चिया उत्पादनमा कमी आएसँगै नेपालबाट चियाको निर्यात बढेको नेपाल चिया उत्पादक सङ्घका अध्यक्ष आदित्य पराजुलीले बताउनुभयो । भारतबाट अझै माग बढेकाले चियाको निर्यात यो वर्ष थप बढ्ने उहाँको दाबी छ । गत आर्थिक वर्ष २०८०/८१ मा १३ हजार ४३३ मेट्रिक टन अर्थात् तीन अर्ब १६ करोड ३८ लाख ३६ हजार बराबरको चिया भारत निर्यात भएको थियो । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ७।६८ प्रतिशले घटेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here