काठमाडौँ । गृहमन्त्री रामबाहदुर थापा ‘बादल’ले निर्मला प्रकरणलाई राजनीतिक गरिएको बताएका छन् ।
गृहमन्त्रालयको आर्थिक वर्ष ०७५/७६ को वार्षिक कार्यसम्पादन प्रगति र आगामी कार्यदिशा सम्बन्धमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री थापाले सो कुरा बताएका हुन् । ‘निर्मला पन्तको बलात्कार र हत्या जघन्य अपराध हो’, कार्यक्रममा बोल्दै उनले भने,‘यस किसिमका अपराध कुनै नौलो होइन । यस किसिमका घटना यो भन्दा अगाडि पनि थिए, आज पनि छ र भोलि पनि केही समयसम्म रहने छ ।’
यस किसिमका अपराधलाई सरकारले अहिले पूर्णत निषेध गर्न सकिरहेको गृहमन्त्रीको दाबी छ । आपराधिक घटनालाई राजनीतिकरण गरिएको भन्दै उनले दु:ख व्यक्त गरे । ‘मानौं गृहमन्त्रालयले यसका अपराधीलाई बचाउन खोजेको छ भनेर जुन ढंगले राजनीतिकरण गरिएको छ त्यो दुखद घटना हो’,उनले भने ।
सबै नागरिक समाज, राजनीतिक दल,मिडिया, प्रहरी मिली अपराधीलाई कानुनको कठघरामा ल्याइ पीडितलाई न्याय दिनुपर्ने उनले बताए । कञ्चनपुर भीमदत्त नगरकी निर्मला पन्तको गत वर्ष साउन १० गते बलात्कार पछि हत्या भएको थियो। घटना भएको एक वर्ष पुगे पनि हत्यारा अहिलेसम्म पत्ता लाग्न सकेको छैन ।





