एमबीबीएस र जनस्वास्थ्यको प्रवेश परीक्षाको त्रुटी तत्काल सच्याउन सरकारलाई संसदीय समितिको निर्देशन


१९ भाद्र २०८१, बुधबार १७:०० मा प्रकाशित


काठमाडौं । संसदीय समितिले चिकित्सा शिक्षा आयोगले सार्वजनिक गरेको एमबीबीएस र जनस्वास्थ्यको प्रवेश परीक्षाको नतिजामा देखिएको त्रुटी तत्काल सच्याउन सरकारलाई निर्देशन दिएको छ ।


बुधवार सिंहदरबारमा बसेको संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले सो प्रवेश परीक्षाको नतिजामा चिकित्सा शिक्षा आयोगले गम्भिर त्रुटी गरेको निष्कर्ष निकाल्दै आम जनता र सम्बन्धित विद्यार्थीहरुलाई विश्वासमा लिएर त्यसलाई सच्याउन सरकारलाई निर्देश गरेको हो ।

सो परीक्षाको नतिजामा एउटा विद्यार्थीको प्राप्तांक अर्कै विद्यार्थीको नाममा आउने जस्तो गम्भिर त्रुटी आयोगबाट भएपछि त्यसलाई तत्काल सच्याउनका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिइएको समितिका सभापति अम्मरबहादुर थापाले जानकारी दिनुभयो । समितिले सो सम्बन्धमा तत्काल छानविन समिति गठन गरी १० दिन भित्र सो प्रतिवेदन समितिमा पेश गर्न पनि सरकारलाई सचेत गराएको छ । 


बैठकमा समितिका सदस्यहरुले चिकित्सा शिक्षा आयोगले विद्यार्थीको भविष्यमाथि नै डामाडोल हुने गरी सो परीक्षाको नतिजा सार्वजनिक गरेको भन्दै आपत्ति जनाएका थिए । यता, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले पनि आयोगले सो गम्भिर त्रुटी गरेको औंल्याउँदै त्यसलाई छानविन गरेर अघि बढ्ने प्रतिवद्धता समिति समक्ष गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here