काठमाडौं । नेपालीहरुलाई माल्टा पठाइदिने भन्दै लाखौं रकम ठग्ने एकजना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
भारतको दिल्ली घर भइ हाल काठमाडौं महानगरपालिका–९ सिनामंगल बस्दै आएका २३ वर्षीय राहुल पाण्डेलाई टेकुबाट महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।भिभि इन्टरनेशनल प्रालिमार्फत नेपालीहरुलाई वैदेशिक रोजगारको लागि माल्टा लैजान्छु भनि नक्कली भिसा दिलाएर पाण्डेले ६५ लाख ७० हजार ६०० रुपैयाँ ठगेको भन्दै प्रालिका संचालक दावा शेर्पाले उजुरी दिएका थिए ।
सोही उजुरीका आधारमा अपराध महाशाखाले पाण्डेलाई पक्राउ गरेको हो । उनलाई अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ । उक्त रकम भिसा प्रकृया र सेक्युरिटी डिपोजिटका लागि भन्दै पटक पटक असुलेको दावाको दावी छ ।





