एक महिनाभित्र उपभोक्ता अदालत गठन हुन्छ : मन्त्री भण्डारी


९ भाद्र २०८१, आईतवार १२:०९ मा प्रकाशित

काठमाडौं उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले एक महिनाभित्र उपभोक्ता अदालत गठन हुने बताएका छन्। आइतबार वर्तमान अवस्थामा आपूर्ति व्यवस्थापन र उपभोक्ता अधिकार विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै  मन्त्री भण्डारीले एक महिनाभित्रै उपभोक्ता अदालत गठन गरी गुनासा सुनेर पीडित उपभोक्तालाई न्याय दिलाउने विश्वास व्यक्त गरे।

आजको दिनबाट तपाईं गणना गर्नु्होस् एक महिनाभित्र उपभोक्ता अदालत गठन हुनेछ। अदालतले गरेका फैसलाले मिसावट,कृतिम अभावलगायत मूल्य समायोजनमा यसले ठूलो प्रभाव पार्नेछ, ‘उनले भने,’ यसैले अनुगमनलाई प्रभावकारी बनाउन महत्वपूर्ण काम गर्नेछ।

मन्त्री भण्डारीले चाडबाडको समयमा बजारमा अत्यावश्यक वस्तुहरूको अभाव हुन नदिन सरकार सचेत रहेको बताए।  उनले चाडबाडको बेला अभाव नहुनेगरी चामल,चिनीलगायतका अत्यावश्यक वस्तुहरूको सहज आपू्र्ति र सुपथ मूल्यमा वितरण गर्ने काममा सरकारले कुनै कसर बाँकी नराख्ने बताए।

मन्त्री भण्डारीले आपूर्ति कर्ताहरूसँग छलफल गरेर दैनिक उपभोग्य वस्तुहरूको सहज र सुपथ मूल्यमा आपूर्ति गराउने काम सरकारले गर्दै आएको बताउँदै बजार अनुगमनको कामलाई पनि प्रभावकारी बनाइने बताए।

मन्त्री भण्डारीले चाडबाडलाई लक्षित गरी कालोबजारी मौलाउन सक्ने भन्दै यसलाई नियन्त्रण गर्न सरकार जिम्मेवार ढंगले काम गरिरहेको बताए। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here