झापाको शिवसताक्षीमा शिक्षकको कुटाइबाट विद्यार्थी घाइते


६ भाद्र २०८१, बिहीबार ०७:५५ मा प्रकाशित

झापा । झापाको शिवसताक्षी १० स्थित बाल निकुञ्ज माध्यमिक विद्यालयका शिक्षकले एक छात्रामाथि निर्मम कुटपिट गरेका छन्।

कक्षा ६ मा अध्ययनरत छात्रा अन्जली गुरुङलाई क्लास वर्क गर्न अटेर गरेको भन्दै नेपाली विषयका शिक्षक हेतिराज निरौलाले पाइपले पिटेका हुन् । छात्राको कम्मर माथिको भाग डडेल्नोमा तीनवटा सुम्ला छन्। उनको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ।

छात्रालाई पिट्ने शिक्षक निरौला कानुन व्यवसायी हुन्। उनी शिक्षकहरूको छाता संगठन नेपाल शिक्षक महासंघ शिवसताक्षी नगरका सचिवसमेत हुन्।

शिक्षक निरौलाले हातमा विद्यार्थी तर्साउनका लागि बोकेको पाइपको छडीले हिर्काएको अरु विद्यार्थीहरूले बताएका छन्। जसबाट अन्जलीको डडेल्नोमा तीनवटा सुम्ला बसेका छन्।

घाइते अन्जलीलाई विद्यालय हाताबाटै एम्बुलेन्सले उपचारका लागि अस्पताल पुर्याएको थियो। विद्यालयका प्रधानाध्यापक भवानी थापाले शिक्षक निरौलाले गम्भीर त्रुटि गरेको स्वीकारेका छन्।

शिक्षक निरौलाको गल्तीको विषयमा विद्यालय प्रशासन र विद्यालय व्यवस्थापन समितिको छलफलपछि मात्र निर्णय गर्न सकिने उनले जानकारी दिएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here