किसानका लागि मल माग्दै कांग्रेसले बुझायो ज्ञापन पत्र


५ श्रावण २०७६, आईतवार १६:२० मा प्रकाशित

काठमाडौँ । नेपाली कांग्रेस दाङले किसानलाई मल माग्दै जिल्लाका दश वटै स्थानीय तहरुमा आइतबार ज्ञापन पत्र बुझाएको छ ।

रोपाइँको चटारो भइरहँदा किसानले मल नपाएको भन्दै कांग्रेसले अविलम्ब मल उपलब्ध गराउन माग गरिएको जिल्ला सभापति कीर्तिबहादुर खड्काले जानकारी दिए । तुलसीपुर उपमहानगरपालिकामा दाङ क्षेत्र नं. ४ का क्षेत्रीय सभापति जगतबहादुर खड्काको नेतृत्वमा मेयर घनश्याम पाण्डेलाई ज्ञापन पत्र बुझाइएको छ । धान खेतीको समयमा अति आवश्यक रासायनिक मल नपाउँदा किसान हलो जोत्न छोडेर बजारमा भौंतारिनु पर्ने अवस्था आउनु दुःखद पक्ष भएको किसान संघका क्षेत्रीय सभापति गणेश चौधरीले बताए ।

मलको अभावमा धानखेती गर्न नसकेको हुँदा तत्काल किसानको माग सम्वोधन नगरे आन्दोलन चर्काउने उनले चेतावनी दिए । कांग्रेस क्षेत्र नं. ३ का क्षेत्रीय सचिव खिमबहादुर वलीले नारामा कृषिको सम्वृद्धिको कुरा गर्ने कम्युनिष्ट नेतृत्वको दुईतिहाई बहुमतको सरकारले मलका लागि कुनै चासो नदिनुले सरकार किसानको हकहितमा छैन भन्ने स्पष्ट भएको आरोप लगाए । नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य युवराज खड्काले दुई तिहाई बहुमतको कम्युनिष्ट सरकार चुर्लम्म भ्रष्टचारमा डुवेको बताए । ‘तलदेखि माथि सम्म जसरी हुन्छ कमाउनु पर्छ भन्ने मानसिकता देखिन्छ,’ खड्काले भने ‘त्यहि कमिसनको चक्करले किसानले समयमै मल नपाएका हुन् ।’

जनताका दैनिक समस्या र आवश्यक्ता समाधान गर्न नसक्ने सरकारको औचित्य समाप्त भइसकेको खड्काले दाबी गरे । ‘आशा गरे अनुरुप दुई तिहाईको सरकारले चित्त बुझ्दो कुनै पनि कुरा डेलिभर गर्न सकेन,’ विद्यार्थी नेता खड्काले भने ‘खेतीको समयमा मल समेत दिन नसक्ने यो सरकारले कृषि क्रान्तिका कुरा गर्नु आफैमा मजाक हो ।’

र्या‍लीसहित ज्ञापन पत्र बुझाउन गएका काँग्रेसका नेता कार्यकर्ताहरुले तुलसीपुरको वीपी चोकमा पुगेर कोण सभा गरेका थिए । त्यहाँ सम्वोधन गर्ने बक्ताहरुले पनि तत्काल किसानलाई मल उपलब्ध गराउन माग गर्दै त्यसो नभए कांग्रेसले किसानको हकहितको लागि आन्दोलन चर्काउने चेतावनी दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here