लन्डन । बेलायतले ओमानको तटीय जलक्षेत्रबाट इरानले कब्जामा लिएको इन्धन बोक्ने टयाँकर (पानीजहाज) तत्काल छाड्न बेलायतले इरान समक्ष आग्रह गरेको छ ।
बेलायतले इरानको उक्त कार्य गैरकानुनी रहेको भन्दै यसलाई कुनै पनि हालतमा स्वीकार्न नसकिने जनाएको छ ।नियन्त्रणमा लिइएको उक्त ट्याँकर अबिलम्ब छाड्न बेलायत समेत युरोपेली अरु मुलुकहरुले इरान समक्ष निरन्तर आग्रह गरिरहेका छन् । उक्त जहाजका १८ जना चालक भारतीय रहेकाले भारतले समेत जहाजमा कार्यरत भारतीयलाई मुक्त गर्न आग्रह गरेको छ ।
इरानको क्रान्तिकारी गार्डले अन्तर्राष्ट्रिय जलमार्गको नियम उल्लंघन गरेको भन्दै गत शुक्रबार स्टेना इम्पेरा जहाजलाई हर्मुज घाँटीबाट नियन्त्रणमा लिएको थियो । स्ट्रेट अफ हर्मुज भनिने यस जलक्षेत्रको मार्ग हुँदै विश्वको झण्डै एक तिहाई इन्धन आदानप्रदान हुने गर्दछ । करिब एक महिनाअघि इरानी तेल ट्याँकर बेलायती सेनाको सहयोगमा जिब्राल्टरमा नियन्त्रण गरिएको थियो । इरानले पटक पटक अनुरोध गरेपनि उक्त जहाज बेलायतले इरानलाई फिर्ता गरेको छैन ।
बेलायतको उक्त कदमको विरोध गर्दै इरानी सरकार र सेनाले हर्मुजको जलक्षेत्रमा बेलायती जहाज आए नियन्त्रणमा लिइने धम्की दिइरहेको थियो ।





