विराटनगर । प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले प्रदेशको पूर्वाधार निर्माणमा इन्जीनियरहरुले महत्वपुर्ण भुमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।
नेपाल इन्जिनियर्स एशोसिएशन प्रदेश एकद्वारा विराटनगरमा आयोजित ५७ औं इन्जिनियर्स दिवसको उद्घाटन गर्दै उनले प्रदेश सरकारले पूर्वाधार विकासमा ठूलो बजेट रकम छुट्याएकोले नमूना प्रदेश बनाउन सरकारसंग हातेमालो गर्न आग्रह गरे । मुख्यमन्त्री राईले आफ्नो अमेरिका भ्रणमा त्यहाँ रहेका नेपालीहरुलाई विश्वको नविनतम प्रविधि नेपालमा भित्र्याउन आब्हान गरेको जानकारी दिदै प्रदेश सरकारले चाँडै नै विज्ञ सम्मेलनको आयोजना गरी ठोस योजना बनाए पश्चात लगानी सम्मेलनको आयोजना गर्ने बताए । उनले मुलुक निर्माणमा फरालिको सोचका साथ त्याग र निष्ठाबाट कार्य गर्न समेत आग्रह गरे ।
विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले महानगरमा छात्रावास सहितको एउटा प्राविधिक विद्यालय सञ्चालन गर्ने जानकारी दिदै गुणस्तरीय कार्यबाट शुसासन कायम हुने विचार व्यक्त गरे । एशोसिएशनका प्रदेश अध्यक्ष यशबन्तविक्रम शाह, पूर्वाञ्चल इन्जिनियर क्याम्पस धरानका प्रमुख ओमप्रकाश ढकाल, पूर्व केन्द्रीय अध्यक्ष ध्रुव थापा, मनोज घिमिरेले इन्जिनियर पूर्वाधार विकासका मेरुदण्ड भएको बताए ।





