स्वास्थ्य क्षेत्रको सुधारका लागि एकीकृत स्वास्थ्य प्रणाली आवश्यकः स्वास्थ्यमन्त्री पौडेल


१२ श्रावण २०८१, शनिबार १६:४९ मा प्रकाशित

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रको सुधारका लागि एकीकृत स्वास्थ्य प्रणाली विकास गर्न जरुरी रहेको बताउनुभएको छ । शनिवार वीर अस्पतालको १३५ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले वीर अस्पताल भित्रका सबै इकाइहरुको समन्वय हुन आवश्यक रहेको पनि बताउनु भयो । उहाँले व्यवस्थापकीय पक्षमा उल्लेख्य सुधार हुन नसकेको जिकिर गर्दै राम्रोसँग सुधार र समन्वय गर्नसके भइरहेको जनशक्तिबाट नै राम्रो परिणाम दिन सकिने बताउनु भयो । उहाँले खरिद प्रक्रियाका बारेमा उठेका प्रश्नहरु परादर्शी बनाउन आवश्यक रहेको बताउनु भयो । वीर अस्पतालको सबै व्यवहार र कारोबार पारदर्शी हुने व्यवस्था गर्नुपर्ने बताउनु भयो ।

उहाँले वीर अस्पतालले प्रभावकारी सेवा प्रवाह गर्न नसकेको गुनासो आइरहेको भन्दै इमर्जेन्सी सेवा, अप्रेसनका लागि वर्ष दिन कुर्नुपर्ने बाध्यताको अन्त्य गर्न जरुरी रहेको बताउनु भयो । सेवाग्राहीहरुले सेवा लिँदा सन्तुष्टि प्राप्त नगरेको जनगुनासो आएको भन्दै त्यसमा पनि विशेष ध्यान दिन निर्देशन दिनुभयो ।  कार्यक्रममा बोल्दै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपकुलपति डा. भूपेन्द्र बस्नेतले वीर अस्पतालले विशिष्ट र अतिविशिष्ट सेवाहरुमा धेरे केन्द्रित गरिरहेको बताउनु भयो ।

उहाँले वीर अस्पताल अति नै विशिष्टिकृत अस्पताल बनाउने गरी काम गरिरहेको बताउनु भयो । उहाँले बिरामीले सहज र गुणस्तरीय सेवा प्रदान गर्नेकुरामा केन्द्रित भइ काम गरिरहेको बताउनु भयो । उहाँले इमर्जेन्सी सेवालाई सय शैय्यामा बिस्तार गर्न लागेको र टेण्डर प्रक्रियामा जान लागेको पनि बताउनु भयो । उहाँले हालैमात्र योग्यता÷क्षमताको आधारमा सय जना नर्स राखेको पनि बताउनु भयो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here