अफ्रिका । अफ्रिका कप अफ नेशन्स फुटबल प्रतियोगिताको उपाधिका लागि सेनेगल र अल्जेरिया भिड्ने भएका छन् ।
फाइनल खेल शुक्रबार राति पौने १ बजे इजिप्टको कायरो अन्तर्राष्ट्रिय रंगशालामा हुनेछ । एउटै समूहमा रहेका दुई टिमबीच समूह चरणमा भएको खेलमा अल्जेरियाले सेनेगललाई १–० ले हराएको थियो । दुई टिमबीच अहिलेसम्म भएका ६ खेलमा ४ खेल अल्जेरिया र एक खेल सेनेगलले जित्दा एक खेल बराबरी भएको छ । सेनेगल पहिलो पटक प्रतियोगिताको उपाधि जित्ने दाउमा छ ।
सन् २००२ मा पहिलो पटक फाइनल पुगेको सेनेगल त्यतिबेला क्यामरुनसँग पराजित भएपछि उपबिजेतामा सिमित भएको थियो । अल्जेरियाले भने सन् १९८० र १९९० मा नाइजेरियासँग फाइनल खेलेको थियो । सन् १९९० मा पहिलो पटक उपाधि जितेको अल्जेरिया त्यसयता रित्तो हात घर फर्कँदै आएको छ । दुई टिमबीचको फाइनललाई प्रिमियर लिगका दुई चर्चित खेलाडीबीचको प्रतिष्पर्धाका रुपमा हेरिएको छ । म्यानचेष्टर सिटीका रियाद मेहरेज अल्जेरियाका कप्तान र लिभरपुलबाट खेल्दै आएका साडियो माने सेनेगलका स्ट्राइकर हुन् ।





