उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सरकारी निकायमा चार्टर्ड एकान्टेण्टको लागि दरबन्दीको व्यवस्था गर्ने विषयमा सरकार सकारात्मक रहेको बताउनुभएको छ । शनिवार साँझ काठमाडौंमा नेपाल चार्टर्ड एकाउन्टेण्ट्स संस्थाको दशौँ परिषद्को शपथग्रहण समारोहलाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो ।
उहाँले राज्यका संवद्ध निकायहरुमा चार्टर्ड एकान्टेण्टको दरबन्दी राख्ने विषयमा सरकार छिट्टै निष्कर्षमा पुग्नेगरी पहल गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले राज्यका संवद्ध निकायहरुमा अर्थ मन्त्रालय,अर्थ मन्त्रालय मातहतका निकाय,महालेखापरीक्षक कार्यालय र त्यसका मातहतका निकाय लगायत अन्य निकायहरुमा चार्टड एकाउन्टेण्टका लागि दरबन्दीको प्रवन्ध गरिने बताउनु भयो ।
अर्थमन्त्री पौडेलले राज्यमा संवद्ध निकायमा चार्टर्ड एकान्टेण्टहरुको लागि दरबन्दीको व्यवस्था हुनुपर्ने मागमा सकारात्मक रहेको बताउनु भयो । उहाँले मुलुकको लेखा प्रणालीलाई प्रभावकारी र पारदर्शी बनाउन चार्टर्ड एकान्टेण्टहरुको महत्वपूर्ण भुमिका रहेको बताउनु भयो अर्थमन्त्री पौडेलले कर प्रणालीमा सुधार, आर्थिक पारदर्शिता, जवाफदेहिता र कर्तव्यपरायणता मुलुकको उन्नतिको पूर्वशर्त रहेको बताउनु भयो ।
उहाँले आगामी दिनमा कर प्रणाली र लेखा परीक्षणको विकासमा आधुनिक प्रविधिको प्रयोग सहित चार्टड एकाउन्टेण्टको विधालाई प्रभावकारी सशक्त र विश्वसनीय बनाउनको निम्ति चार्टड एकाउन्टेण्ट संस्थाले महत्वपूर्ण भुमिका निर्वाह गर्ने अपेक्षा गर्नुभयो ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चार्टर्ड एकान्टेण्टले देखाएको पारदर्शी दक्षताले सरकारी निकायहरुमा चार्टर्ड एकान्टेण्टको दरबन्दी गर्नुपर्ने महशुस गरेको बताउनु भयो । उहाँले सरकारले सरकारी निकायहरुमा लेखापरीक्षणमा चार्टर्ड एकान्टेण्टहरुले देखाएको राम्रो कामका आधारमा दरबन्दीकै व्यवस्था गर्ने पक्षमा सरकार पुगेको उल्लेख गर्नुभयो । गभर्नर अधिकारीले चार्टर्ड एकान्टेण्टको महत्व र नेपालमा मात्रै नभएर अन्तर्राष्ट्रिय रुपमा पु¥याएको योगदान लोभ लाग्दो रहेको बताउनु भयो ।
उहाँले चार्टर्ड एकान्टेण्टसंस्थाले अन्तर्राष्ट्रिय मापदण्डअनुसार काम गरिरहेको उल्लेख गर्नुभयो । उहाँले आगामी दिनमा पनि लेखाप्रणालीलाई पारदर्शी बनाउने गरी काम गर्न थप सक्रियता बढ्ने अपेक्षा रहेको बताउनु भयो ।