काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले स्नातक तहमा फेल हुने विद्यार्थीले एक महिनाभित्र मौका/पूरक परीक्षा दिन पाउने व्यवस्था गरेको छ ।
त्रिवि प्राज्ञिक परिषद्ले वार्षिक प्रणालीअन्तर्गत स्नातक तहको अन्तिम वर्षमा अनुर्त्तीण हुने विद्यार्थीलाई मौका दिन पाउने निर्णय गरेको उपकुलपति केशरजंग बरालले जानकारी दिए ।
दुई विषयसम्म अनुत्तीर्ण हुने विद्यार्थीले मौका परीक्षा दिन पाउने बरालले बताए । यसअघि अन्तिम वर्षमा कुनै पनि विषयमा अनुत्तीर्ण भए अर्को वर्ष मात्रै परीक्षा दिन पाउने व्यवस्था थियो ।
विद्यार्थीको एक वर्ष खेर गएकाले त्यसलाई बचत गर्न मौका परीक्षा सञ्चालन गर्न लागिएको उपकुलपति बरालले बताए । सबै संकाय र अध्ययन संस्थानमा उक्त निर्णय लागू हुने त्रिविले जनाएको छ ।
स्नातक तहको पहिलो, दोस्रो, तेस्रो वर्षमा अनुत्तीर्ण भए चौथो वर्ष अध्ययन गर्दासम्म विद्यार्थीले अनुत्तीर्ण विषयमा परीक्षा दिन पाउनेछन् ।
‘सेमेस्टर प्रणालीमा ग्रेडवृद्धि परीक्षा दिन पाउने व्यवस्था छ,’ उनले भने, ‘वार्षिक प्रणालीमा पनि नतिजा प्रकाशन भएको दुई सातापछि मौका परीक्षा सञ्चालन गर्न पाउने निर्णय गरेका छौं ।’