सत्तारुढ गठबन्धनमा षड्यन्त्रको गन्ध छ, समाजवादी मोर्चाले प्रतिवाद गर्छः गंगा श्रेष्ठ


५ श्रावण २०८१, शनिबार ११:२९ मा प्रकाशित

महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी, नेपालका सहअध्यक्ष तथा समाजवादी मोर्चा नेपालका कार्यदल सदस्य गंगानारायण श्रेष्ठले समाजवादी मोर्चाले राजनीतिक परिवर्तनबाट प्राप्त उपलब्धिहरुको रक्षा गर्ने बताउनुभएको छ ।

 कार्यदल सदस्य श्रेष्ठले समाजवादी मोर्चाले देशमा राजनीतिक परिवर्तनबाट प्राप्त भएका उपलब्धिहरुको रक्षा गर्ने बताउनुभएको हो । उहाँले नयाँ सत्तारुढ गठबन्धनले देशलाई पश्चगमनमा धकेल्न लागेको आरोप लगाउनु भयो ।

उहाँले प्राप्त उपलब्धिहरुलाई छिन्ने धृष्टता गरे समाजवादी मोर्चाले त्यसको बिरुद्धमा सडक र सदनबाट सङ्घर्ष गर्ने बताउनु भयो । उहाँले देशका समाजवादी, कम्युनिस्ट र वामपन्थी शक्तिहरुहरु एकतावद्ध हुनुपर्ने आवश्यकता रहेको भन्दै मोर्चाले त्यसको आधार तयार गर्ने बताउनु भयो । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले आगामी दिनमा मोर्चामा आवद्ध दलहरु पार्टी एकताको तहसम्म पुग्नसक्ने पनि बताउनु भयो ।

कार्यदल सदस्य श्रेष्ठले वर्तमान सत्तारुढ गठबन्धनभित्र षड्यन्त्रका गन्धहरु देखिएको भन्दै मोर्चाले षड्यन्त्रहरुको प्रतिवाद गर्ने बताउनु भयो । वागमती प्रदेश सकारकारका आन्तरिक मामिला तथा कानूनमन्त्री समेत रहनुभएका श्रेष्ठले प्रदेश सरकार निर्माणमा केन्द्रबाट हस्तक्षेप गर्नु नहुने बताउनु भयो । प्रदेश सरकार स्वायत्त सरकार भएको उल्लेख गर्दै उहाँले कुन–कुन दलहरु मिलेर सरकार गठन गर्ने भन्ने निर्णयको अधिकार प्रदेशसँगै हुने बताउनु भयो ।

उहाँले केन्द्रिय गठबन्धन टुट्नासाथ सबै प्रदेशका गठबन्धनहरु फेरबदल हुँदा यसले प्रदेशको औचित्य र आवश्यकतामाथि नै प्रश्न उठाएको बताउनु भयो । उहाँले समाजवादी मोर्चाको भावि कार्ययोजना बनाउनका लागि कार्यदलले काम गरिरहेको भन्दै तोकिएकै समयसिमाभित्र प्रतिवेदन पेश गरिने जानकारी दिनुभयो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here