नयाँ सरकारसँगै देशले गति लिने आम नागरिकको अपेक्षा


४ श्रावण २०८१, शुक्रबार १३:४४ मा प्रकाशित

संसदका दुई ठूला राजनीतिक दलको नयाँ सरकार बनेसँगै आम नागरिकहरुमा देश विकास कामले गति लिने अपेक्षा राखेका छन् । नेपाली काँग्रेस र नेकपा एमालेबीच असार १७ गते राति सत्ता समीकरण बनेको थियो ।

सत्ता समीकरण बनेसँगै आम नागरिक, उद्योगी, व्यवसायी, राजनीतिककर्मी र विभिन्न पेशा व्यवासायीहरु सरकारमा स्थायित्व कामय हुने र त्यसको परिणाम फलदायी हुनेमा आश्वस्त छन् । देशका ठूला राजनीतिक दलहरुबीचको सत्ता समिकरणले राजनीतिक स्थायित्व दिने विश्वास आम नागरिकमा बढेको छ । मुलुकमा हरेक ४ देखि ६ महिनामा सत्ता समिकरण परिवर्तन हुँदा राजनीतिक अस्थिरता थियो ।

तर संसदमा प्रतिनिधित्व गर्ने दुई ठूला दलहरु नै मिलेर सरकार बनाएसँगै मुलुकमा देखिएको आर्थिक संकट समाधान हुने र उद्योग व्यवसायमा सहजता आउने अपेक्षा व्यवसायीको छ । एमाले र काँग्रेसको सत्ता समिकरणबाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्नुभएको छ । ओली नेतृत्वको सरकारले अर्थतन्त्रमा देखिएको शिथिलता र उद्योगी व्यवसायी तथा आम सर्वसाधरणमा देखिएको निरासा कम गर्न बोल्ड निर्णय लिन आवश्यक रहेको उनीहरुको भनाई छ । उद्योगी व्यवसायी तथा आम नागरिकले सरकार बनाएर पार्टीका सांसदहरुलाई मन्त्री बनाउन मात्रै समिकरण बन्न नहुने बताएका छन् ।

होटल तथा पर्यटन व्यवसायी संघ पर्साका अध्यक्ष हरि पन्तले एमाले—काँग्रेस मिलेर बनेको सरकार टिकाउ र स्थिर हुने व्यवसायीहरुको बुझाइ रहेको बताउनु भयो । उहाँले स्थिर सरकार बनेकाले अब देशलाई आर्थिक रुपमा अघि बढाउन बोल्ड निर्णय लिनुपर्ने बताउनु भयो । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले वर्तमान सरकारप्रति मुलुकभरका व्यवसायीहरुमा एक किसिमको आशा पलाएको बताउनु भयो ।

उहाँले सरकार बनाउन मात्रै समीकरण भएको भए त्यसबाट धेरै आशा भने राख्न नसकिने बताउनु भयो । वीरगञ्ज वाणिज्य संघका उपाध्यक्ष माधवराज पालले मनोबल खस्किएको निजी क्षेत्रमा नयाँ सरकार बनेसँगै आशा जागेको बताउनु भयो । उहाँले विगतमा पार्टी सानो दलको र सरकार चलाइरहेकाले अस्थिरता भएको भन्दै अब दुई ठूला दल मिलेर बहुमतको सरकार बनेकाले राम्रो हुने अपेक्षा रहेको बताउनु भयो । उहाँले मौद्रिक नीतिबाट निजी क्षेत्रको मनोबल उकास्न आवश्यक रहेको बताउनु भयो । 

जनमत पार्टी, पर्सा जिल्लाका अध्यक्ष ओमप्रकाश सर्राफले  आर्थिक संकटदेखि हरेक क्षेत्रमा बेथिति, हरेक क्षेत्रमा निराशा भएको अवस्था दुई ठूला दल मिलेर सरकार बनेकाले आशा धेरै पलाएको बताउनु भयो ।

उहाँले काँग्रेस र एमाले मिलेर देशमा दिगो शान्ति र स्थायित्व दिनसक्नु पर्ने बताउनु भयो । उहाँले स्थिर सरकार हुँदा देशको आर्थिक स्थिति सुदृढ हुने अपेक्षा रहेको बताउनु भयो । उहाँले सरकारको स्थायित्व हुन नसक्दा भ्रष्टाचार र बेथिति बढेकाले अब बेरोजगारी, निराशा, आर्थिक संकट हट्नेछ भन्ने आश रहेको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here