सत्ता गठबन्धन परिवर्तनको कुनै राजनीतिक कारण छैनः राजनीतिक विश्लेषक खतिवडा


२ श्रावण २०८१, बुधबार ११:२२ मा प्रकाशित

काठमाडौं । तत्कालिन पुष्पकमल दाहाल नेतृत्वको सरकार ढलेर एकाएक संसदका दुई ठूला राजनीतिक दलहरु नेपाली काँग्रेस र नेकपा(एमाले)सहितको समिकरणमा नयाँ सरकार बनेपछि यसबारे अनेकन प्रतिक्रियाहरु आइरहेका छन् ।

कतिपयले ठूलो राजनीतिक अर्थसहित एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेको भनिरहेका छन् भने कतिपयले काँग्रेस–एमाले सहितका दलहरुले केबल बाँडीचुँडी सत्ताको उपभोग गर्नका लागि मात्रै सरकार बनेको टिप्पणी गरिरहेका छन् । राजनीतिक विश्लेषक डम्बर खतिवडा भने नेपाली काँग्रेस र नेकपा(एमाले)ले सत्ताको उपभोग गर्न नपाउँदा नयाँ गठबन्धन बनाएको टिप्पणी गर्नुभएको छ ।

न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै राजनीतिक विश्लेषक खतिवडाले संसदका दुई ठूला दलहरु नेपाली काँग्रेस र नेकपा(एमाले)को गठबन्धनमा सरकार बन्नुका पछाडी कुनै राजनीतिक कारण नभएको बताउनु भयो ।

उहाँले यि दुई दलहरुले सत्ता बाहिर लामो समय बसेमा आफूहरु समाप्त हुने भयका कारण मिलेर सरकार बनाएको बताउनु भयो । प्रतिपक्षमा बस्दा सरकारी सेवा, सुविधाको उपभोगबाट वञ्चित हुने मानसिकताले पनि सरकारमा यि दलहरु मिलेर गएका उहाँले टिप्पणी गर्नुभयो ।

उहाँले संसदको तेस्रो र चौथो ठूलो दलले सरकारमा रजगज गरेको देख्दा काँग्रेस र एमाले आत्तिएको बताउनु भयो । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उहाँले संसदीय लोकतन्त्रमा दुई ठूला दलहरु मिलेर सरकार बनाएको संसारमा कतै नभएको भन्दै नेपालमा भने भागबण्डाको राजनीतिका कारण यस्तो सम्भव भएको बताउनु भयो । 

उहाँले कुटनीतिक र भूराजनीतिक सन्तुलनको सन्दर्भमा नयाँ सरकारबाट केही पनि अपेक्षा गर्न नसकिने बताउनुभयो । सरकारले अन्तर्राष्ट्रिय सम्बन्धमा सन्तुलन र परिपक्वता देखाउन नसक्ने उहाँको भनाई छ । छिमेकी दुई देशहरु भारत र चीनसँगको सम्बन्ध यथास्थितिमा रहने भन्दै सम्बन्धमा उल्लेखनीय घटना नहुने उहाँको भनाई छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here