झापा । वैदिक सनातन धर्म संरक्षण समिति झापाको आयोजना कनकाई कोटीहोममा तीन दिने वैदिक सनातन धर्म संरक्षणको विषयमा चिन्तन मन्थन कार्यक्रम आयोजना गरिने भएको छ।
शुक्रबारदेखि सुरु हुने उक्त कार्यक्रम आइतबार समापन हुने समितिले जनाएको छ। कार्यक्रममा भाग लिन आउनेलाई आवासीय व्यवस्था मिलाइएको समितिका पदाधिकारीले जानकारी दिएका छन्।
कार्यक्रममा दैनिक ३ सय भन्दा माथि ब्राह्मण तथा पुरोहितहरूको उपस्थिति रहने समितिका झापा अध्यक्ष रामप्रसाद ओझाले जानकारी दिए। खासगरि झापा, मोरङ तथा सुनसरी जिल्लाबाट सहभागिता रहने उनले बताए।
कर्मकाण्डीय क्षेत्रमा देखिएका समस्या र ती समस्यालाई निराकरण कसरी गर्न सकिन्छ भन्ने विषयमा कार्यक्रममा छलफल हुने समितिले जनाएको छ।
कार्यक्रम शुक्रबार बिहान १० बजे उद्घाटन हुने र सहभागीहरूको परिचय पत्र वितरण बिहान ८ बजेबाट गरिने समितिका पदाधिकारीको भनाइ छ। कार्यक्रममा सबै सम्प्रदायका विशिष्ट विद्वानहरूलाई निर्णायकको रुपमा राखिने समितिका अध्यक्ष ओझाले बताए।