चितवनको सौराहालाई हनीमुन सिटी बनाऔँः सांसद गुरुङ


२१ जेष्ठ २०८१, सोमबार १४:२९ मा प्रकाशित

काठमाडौँ । नेपाली काँग्रेसका सांसद धनराज गुरुङले चितवनको सौराहामा हनीमुन सिटी बनाउन माग गर्नुभएको छ ।

सोमवार प्रतिनिधि सभा बैठकमा आ.व. २०८१/०८२ को राजश्व र व्ययको वार्षिक अनुमान माथिको सामान्य छलफलका क्रममा बोल्दै सांसद गुरुङले पर्यटन प्रवर्द्धनका लागि चितवनको सौराहामा हनीमुन सिटी बनाउनुपर्ने बताउनुभएको हो ।

उहाँले नवविवाहित जोडीहरु घुम्न जाने शहरको रुपमा हनिमुन सिटी बनाउनुपर्ने उहाँले बताउनु भयो । त्यस्तै रारा तालमा १ हजार जोडी अट्ने हनीमुनसिप बनाउनुपर्ने पनि उहाँको भनाइ छ । उहाँले रारालाई पनि हनीमुन मनाउन जाने ठाउँको रुपमा विकास गर्नुपर्ने बताउनु भयो । यसो गरेमा पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने सांसद गुरुङको भनाइ छ । उहाँले आगामी दिनमा डाँडामा भ्युटावर बनाउनु नहुने पनि बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘यसमा एउटा कुरा अझै पुगेन । वेडिङ हब्स पनि भयो । बर्थिङ हब्स पनि भयो । अब एउटा हनीमुन हब्स भएन । हनीमुन सिटी भएन । हनीमुन सिटी पनि कहीँ न कहीँ राखिदिँदा के फरक पर्छ ? चितवनको सौराहामै हनीमुन सिटी बनाइदिउँ । विवाहित जोडीहरु त्यहाँ जान्छन् । नव दुलाहा, दुलही त्यहाँ जान्छन् । हात्ती चढ्छन् । घुम्छन् । त्यसैले हनीमुन सिटी । रारा ताल मात्रै हेर्न जानुभन्दा पनि त्यहाँ एउटा हनीमुनसिप बनाइदिउँ । १ हजार जोडी अट्ने सिप बनाइदिउँ । हनीमुनसिपमा गएर हनीमुन मनाउँछन् । के फरक पर्छ ? यसरी पर्यटन प्रवर्द्धन गर्दै जानुपर्छ । अर्को कुरा भन्नैपर्छ । नो नट अगेन भ्यु टावर । डाडाँमा भ्यु टावर बनाएका छौँ भएको डाँडालाई खत्तम बनाएका छौँ । त्यसैले नो नट अगेन भ्यु टावर भन्नु आवश्यक छ ।’

उहाँले गाँजाबाट औषधिजन्य वस्तुको उत्पादन गरेर निर्यात गर्नसके बाट २ खर्ब राजश्व उठ्ने बताउनु भयो । त्यस्तै घरेलु मदिराको ब्राण्डिङ गरे २ खर्ब रुपैयाँ, जडिबुटी खेतीबाट २ खर्ब रुपैयाँ र गैरकानूनी कारोबार बन्द गरेमा २ खर्ब रुपैयाँ राजस्व उठ्ने बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here